काठमाडौं, ६ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले भारतमाथि कडा आलोचना गर्दै भारतलाई ‘ट्यारिफ (आयात कर) को महाराजा’को संज्ञा दिएका छन् । उनले भारतले सस्तो रुसी तेल खरिद गरेर नाफा कमाइरहेको आरोप लगाएको डेक्कल हेराल्डले जनाएको छ ।
नभारोको यो भनाइ भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकाको आलोचनाको जवाफ दिएको केही समयपछि आएको हो । जयशंकरले अमेरिकाले नै भारतलाई रूसबाट तेल खरिद गरी विश्वको ऊर्जा बजारलाई स्थिर राख्न सहयोग गर्न आग्रह गरेको बताएका थिए ।
नभारोले भारत चीनका राष्ट्रपति सी चिनफिङसँग नजिकिएको पनि आरोप लगाएका छन् । उनले विशेष गरी राष्ट्रपति ट्रम्पले भारतीय उत्पादनहरूमा लगाउने आयात कर दोब्बर गरी ५० प्रतिशत पुर्याएपछि भारत र अमेरिकाबीचको सम्बन्धमा तनाव बढेको बताएका छन् ।
नभारोले अमेरिकी पत्रकारहरूसँग कुरा गर्दै भने, “सन् २०२२ मा रूस–युक्रेन युद्ध सुरु हुनुअघि भारतले रुसी तेल खासै खरिद गर्दैनथ्यो । त्यतिबेला यो भारतको कुल आवश्यकताको करिब १ प्रतिशत मात्र थियो । तर, अहिले यो बढेर ३५ प्रतिशत पुगेको छ ।”
यो केही दिनभित्रै नभारोले भारतमाथि गरेको दोस्रो ठूलो आलोचना हो । तीन दिनअघि उनले ‘फाइनान्सियल टाइम्स’मा लेख लेख्दै भारतको रुसी तेल खरिदमाथि प्रश्न उठाएका थिए । भारतले आफ्नो ऊर्जा आवश्यकताका लागि रुसी तेल चाहिन्छ भन्ने तर्क गलत छ भन्ने उनको भनाइ छ ।
नभारोले भने, “भारतले रूसबाट सस्तो कच्चा तेल खरिद गर्छ, आफ्ना रिफाइनरीहरूमा प्रशोधन गर्छ र त्यसपछि पेट्रोल, डिजेलजस्ता प्रशोधित उत्पादनहरू युरोप, अफ्रिका र एसियामा महँगो मूल्यमा बेच्छ ।” उनले यसलाई पूर्ण रूपमा भारतीय रिफाइनरी उद्योगको नाफाखोरी भनेका थिए ।
“ट्यारिफको मामिलामा भारत एक महाराजा हो । भारतले उच्च ट्यारिफ र गैरट्यारिफ अबरोधहरू लगाएको छ,” नभारोले भने । उनले भारतसँग अमेरिकाको ठूलो व्यापार घाटा रहेको र यसले अमेरिकी कामदार र कम्पनीहरूलाई नराम्रो असर गरेको पनि बताए ।
नभारोले आरोप लगाएअनुसार, भारतले कमाएको पैसाले थप रुसी तेल खरिद गर्छ । त्यसपछि रूसले त्यही पैसाले हतियार बनाउँछ र युक्रेनमाथि आक्रमण गर्छ । फलस्वरूप, अमेरिकी करदाताहरूलाई आफ्नो सरकारमार्फत युक्रेनलाई सहयोग गर्न थप पैसा र हतियार दिनुपर्छ ।
यसलाई उनले ‘पागलपन’ को संज्ञा दिएका छन् । उनले भारतले युद्धमा आफ्नो भूमिका स्वीकार गर्न नचाहेको र यो सम्पूर्ण कार्यलाई ‘नाफाखोरी योजना’को रूपमा व्याख्या गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्