काठमाडौं । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले चार दिने बृहत रक्तदान अभियान सञ्चालन गर्ने भएको छ । भदौको ६ देखि ९ गतेसम्म देशभर रक्तदान अभियान सञ्चालन गर्न लागेको हो ।
दादी प्रकाशमणीजीको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा नेपाल र भारतमा गरी एक लाख युनिट रक्त संकलन गर्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।
ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा केन्द्रका सहनिर्देशक रामसिंह ऐरीले मानव कल्याणका लागि यो विशाल रक्तदान अभियान सम्भवतः पहिलो हुने दावी गरे । उनले भने, ‘चार दिनमा नेपाल र भारतमा गरी एक लाख युनिट रगत संकलन गर्ने लक्ष्य राखेका छौं ।’
काठमाडौं उपत्यकामा मात्र पाँच हजार युनिट रगत संकलन गर्ने केन्द्रले बताएको छ । त्यस्तै नेपालभर १० देखि १५ हजार युनिट रगत संकलन हुने उनीहरुको दावी छ ।
रगत संकलन अभियानले गम्भीर अवस्थाका बिरामीलाई जीवनदान प्रदान गर्नुका साथै समाजमा दया, सहयोग र विश्व बन्धुत्वको सन्देश फैलाउने विश्वास आयोजकको छ ।
यो अभियानको आइतबार खुमलटारस्थित नाष्टको सभाहलमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शुभारम्भ गर्दैछन् ।







प्रतिक्रिया दिनुहोस्