काठमाडौं, ६ साउन । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । काठमाडौंमा मध्यरातदेखि नै हल्का वर्षा भइरहेको हो । काठमाडौंबाहेक सिन्धुपाल्चोक, नुवाकोट, झापा, ताप्लेजुङ, संखुवासभा, तनहुँ, प्युठानलगायत जिल्लामा पनि वर्षा भइरहेको छ ।
पछिल्लो १२ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशका सबैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकीलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकीका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेश, बागमती र गण्डकीलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, मधेश र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
यसपालि मनसुनमा औषतभन्दा बढी वर्षा हुने पूर्वानुमान् रहेकोमा मनसुन भित्रिएको डेढ महिनासम्म अपेक्षित वर्षा भएको छैन ।
मधेशमा यसपटक पर्याप्त पानी परेको छैन । पर्याप्त पानी नपरेका कारण मधेशसँगै मध्यपहाडका धेरै ठाउँमा अझै रोपाइँ हुन सकेको छैन ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित छ।







प्रतिक्रिया दिनुहोस्