काठमाडौ ५ साउन । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालय सुधारका क्रममा भर्खरै लोक सेवा आयोगको परीक्षा पास गरी आएका ४५ जना शाखा अधिकृतलाई खटाएको छ ।
अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत आजदेखि विमानस्थलमा खटिएका अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले जानकारी दिनुभयो । विभागले नयाँ अधिकृतहरूलाई अध्यागमनका समस्या र सुधारबारेमा तीन दिने तालिमपछि खटाएको रिजालले बताउनुभयो ।
अध्यागनमा रहेका ४५ जना अधिकृतलाई मन्त्रालयमा तानेको र उनीहरूको दरबन्दी मिलान गर्ने गृह मन्त्रालयले जनाएको छ ।
अध्यागमन कार्यालयमा बारम्बार समस्या दोहोरिएपछि सरकारले नयाँ अधिकृत खटाएको हो । नयाँ अधिकृत पेशागत शुरुआतमा रहेकाले उनीहरूले अठोटसहित सुधारको काम गर्ने मन्त्रालयको विश्वास छ ।
सरकारले पूर्वमुख्यसचिव शङ्करदास बैरागीको संयोजकत्वमा अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान उच्चस्तरीय अध्ययन एवम् छानबिन समिति गठन गरेको छ । समितिलाई विदेश जानेरआउने व्यक्तिको यात्रा सहजीकरण सम्बन्धमा अध्ययन विश्लेषण तथा तथ्यगत छानबिन गरी देखिने समस्या समाधान गर्न नीतिगत कानूनी एवम् संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना प्रस्तुत गर्नेलगायत कार्यादेश दिइएको छ । समितिले अहिले कार्यादेश अनुसार काम गरिरहेको छ ।







प्रतिक्रिया दिनुहोस्