काठमाडौ २ साउन । नेकपा एमालेको पोलिट्ब्युरो बैठक च्यासलमा सुरू भएको छ।
विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजबारे छलफल गर्न पोलिट्ब्युरो बैठक बसेको हो। बैठकले गएराति सम्पन्न सचिवालय बैठकका निर्णय अनुमोदन गर्ने नेताहरूले बताएका छन्।
साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा सचिवालय र पोलिटब्युरो बैठकका निर्णय प्रस्ताव गरिनेछ।
सचिवालय बैठकले एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ मा झार्ने निर्णय गरेको छ। ७० वर्षे उमेर र दुई कार्यकालको हद पनि हटाएको छ।
यस्तै अबदेखि पार्टीमा सचिवालय समिति पनि नरहने निर्णय गरेको छ। अब एमालेमा स्थायी कमिटी, पालिटब्युरो र केन्द्रीय कमिटी मात्र रहनेछन्। १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने निर्णय भएको छ।
आगामी राष्ट्रिय महाधिवेशनदेखि केन्द्रीय निकायका रूपमा तीनवटा कमिटी मात्र सक्रिय हुने गरी विधान महाधिवेशनमा प्रस्ताव गरिने भएको छ।
पार्टीमा अध्यक्ष, महासचिव र उपमहासचिव, उपाध्यक्ष पाँच र सचिव सात जना रहने सहमति भएको छ।
पार्टी उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेलले पदाधिकारी संख्या ११ मात्र राख्ने प्रस्ताव गरेका थिए। तर, छलफलपछि १५ पदाधिकारी राख्ने निर्णय भएको हो।
पौडेलले १९९ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गरेकामा २५१ सदस्यीय बनाउने सहमति भएको छ।
केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहनेछन्, जसअनुसार एमालेको पोलिटब्युरो अब ८३ सदस्यीय हुनेछ।
हाल एमाले पोलिटब्युरो समितिमा ९९ सदस्य छन्।







प्रतिक्रिया दिनुहोस्