काठमाडौ २३ असार । माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले खुला प्रतिस्पर्धाबाट मात्र शिक्षकको नियुक्त गर्न माग गरेको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघु जी पन्तलाई १३ बुँदे ज्ञापन पत्र बुझाउदै अनेरास्ववियू क्रान्तिकारीले आन्तरिक प्रतिस्पर्धालाई पूर्ण रुपमा हटाएर खुला प्रतिस्पर्धाबाट मात्र नियुक्त गर्न भनेको छ।
विद्यालय शिक्षा विधेयकमा शिक्षकको पदपूर्ति गर्दा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला गर्ने सहमति भएपछि सबै खुला गर्नुपर्ने माग राखेको हो। विद्यार्थी संगठनले अस्थायी र राहतका शिक्षकलाई ‘गोल्डेन हाण्डसेक’को व्यवस्था गरेर खुला प्रतिस्पर्धा मात्र बढाउन भनेको छ।
जिल्ला शिक्षा कार्यालय खारेज गर्न गर्नु पर्ने, राज्यकोषबाट सेवा सुविधा लिने व्यक्तिहरुका छोराछोरीहरुलाई अनिवार्य रुपमा सार्वजनिक विद्यालयमा पढाउने कानुनी व्यवस्था गर्न पनि क्रान्तिकारीले माग गरेको छ।
‘देश संघीयतामा गइसकेको अवस्थामा अहिले पनि विभिन्न बाहनामा जिल्ला शिक्षा कार्यालयलाई सक्रिय बनाउन खोज्नु संघीयताको भावना विपरीत छ, जिल्ला शिक्षा कार्यालय खारेज हुनु पर्दछ,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
शिक्षामा निजीकरणलाई निरुत्साहित गर्दै सेवामुलक बनाउनु पनि विद्यार्थी संगठन क्रान्तिकारीले आग्रह गरेको छ । हाल विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पास गर्ने तयारी भइरहेको छ।









प्रतिक्रिया दिनुहोस्