काठमाडौ २२ असार । इजरायलले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइमा प्यालेस्टिनी विद्रोही समूह हमाससँग वार्ता गर्न कतारमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ ।
हमासको अस्वीकार्य मागका बाबजुद इजरायलले वार्ताका लागि प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको बीबीसीले जनाएको छ । हमासले कतार, अमेरिका र इजिप्टको मध्यस्थतामा रहेको योजनामा परिवर्तन चाहेको थियो ।
शुक्रवार राति हमासले ६० दिने युद्धविराम प्रस्तावलाई सकारात्मक प्रतिक्रिया दिँदै वार्ताका लागि तयार रहेको बताएको थियो । यद्यपि एक प्यालेस्टिनी अधिकारीका अनुसार हमासले स्थायी युद्धविरामको वार्ता असफल भएमा लडाइँ पुनः शुरू नहुने ग्यारेन्टीको माग गरेको छ ।
गाजामा नै हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले शनिवार इजरायली आक्रमण र गोलीबारीमा कम्तीमा ३५ जना प्यालेस्टिनीको ज्यान गएको बताएको छ । नजिकैको खान युनिस शहरको एक अस्पतालका अनुसार अल–मवासी क्षेत्रमा पालहरूमा बम विस्फोट हुँदा एक डाक्टर र उनका तीन बालबालिकासहित सात जनाको ज्यान गएको छ ।
शनिवार अबेर इजरायली प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति निकालेर युद्धविराम प्रस्तावमा हमासले गर्न खोजेको परिवर्तन अस्वीकार रहेको जनाएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको अवस्थाबारे चासो व्यक्त गर्दै युद्ध अन्त्यका लागि पहल गर्न इजरायल र हमासलाई आग्रह गर्नुभएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई वाशिङ्गटनमा भेट्ने तय भएको छ । भेटमा महत्त्वपूर्ण घोषणा हुन सक्ने खबरमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्