काठमाडौ २२ असार । बाघको छालासहित दाङको गढवा गाउँपालिकाबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ खबरी गाउँका ४१ वर्षीया विक्रम बुढा मगर, दाङकै राजपुर गाउँपालिका–१ गुरुङ खोलाका ५३ वर्षीय केशवराज सेन ठकुरी र बर्दियाको बारबर्दिया नगरपालिका–४ पदनाहका ३३ वर्षीय अनिल थारु रहेका छन् ।
विक्रमको घरमा बाघको छालाको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा उनीहरूलाई आज बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरूलाई पक्राउ गर्न वडा प्रहरी कार्यालय लमहीका कार्यालय प्रमुख रोशनराज पाण्डेयको कमान्डमा टोली खटिएको थियो ।
विक्रमको घरको माथि तलामा रातो रङको प्लास्टिकको झोलाभित्र लुकाएर राखेको अवस्थामा शिरदेखि पुच्छरसम्म ९ फिट २ इन्च लम्बाइ र ३ फिट २ इन्च चौडाइ भएको पाटेबाघको छाला बरामद भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्