काठमाडौ २२ असार । पुल भाँचिएपछि अवरुद्ध काभ्रेको बनेपा–नाला–भक्तपुर सडक खण्ड ह्युमपाइप राखेर खुलाइएको छ । पुण्यमाता खोलाको पुल भाँचिएर अस्ति शुक्रवार रातिदेखि बनेपा–नाला–भक्तपुर सडकखण्ड अवरुद्ध थियो । काभ्रे र भक्तपुर सीमा क्षेत्र बनेपा नगरपालिका १ र ४ मा पर्ने पुल भाँचिएको थियो ।
काभ्रेको नाला र भक्तपुरको च्यामासिङ सडकखण्ड अन्तर्गत पर्ने यो सडकखण्ड पूर्वबाट काठमाण्डौसँग जोड्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ । ४५ वर्षअघि २०३७ सालमा निर्माण भएको पुल भाँचिएको हो ।
अरनिको राजमार्गअन्तर्गतभक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले गएको दुई वर्षदेखि राजमार्गमा गुड्ने धेरैजसो गाडीले नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए ।
बनेपा नगरपालिका र सडक विभागको पहलमा ह्युमपाइप र माटो राखेर मर्मतपछि आज बिहानदेखि गाडी चल्न थालेका जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख सुनील ध्वाजुले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्