काठमाडौ २१ असार । नेपाली सेनाले प्रयोग गर्दै आएको मुस्ताङको बागवानी विकास केन्द्रको जग्गा खाली गरेको छ । थासाङ गाउँपालिका–४ घाँसामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको स्वामित्वमा रहेको २० रोपनी जग्गा २४ वर्षपछि सेनाले बागवानी केन्द्रलाई प्रयोग गर्न मिल्ने गरी खाली गरेको हो ।
२०५८ सालदेखि नेपाली सेनाको सुरक्षा पोस्टका रूपमा जग्गा प्रयोग हुँदै आएको थियो । द्वन्द्वकालीन समयमा म्याग्दी र मुस्ताङको सीमाक्षेत्र थासाङको घाँसामा सेनाले सुरक्षा पोस्ट खडा गरेको थियो । जोमसोमको ईन्द्र बक्स गणका प्रमुख सेनानी मोहनकुमार थापाले घाँसामा रहेको सेनाको सुरक्षा पोस्ट जोमसोममा ‘मर्ज’ भएकाले जग्गा बागवानी विकास केन्द्रलाई प्रयोग गर्ने गरी खाली गरेको जानकारी दिनुभयो ।
नेपाली सेनाअन्तर्गत ईन्द्रबक्स गणले गएको असार १३ गते लिखित रूपमा सहमति गरेर जग्गा शीतोष्ण बागवानी विकास केन्द्र मार्फालाई जिम्मा दिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका केन्द्र प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो । अब यो जग्गामा केन्द्रले हावापानी सुहाउँदो फलफूल तथा तरकारी विकास र विस्तार गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्