काठमाडौं २७ बैशाख । नेकपा एमालेको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर सीमाको प्रावधान बहसको विषय बन्ने लगभग पक्का देखिएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अलग सन्दर्भमा व्यक्त गरेको सार्वजनिक वक्तव्यले यो एजेण्डा एमालेभित्र पेचिलो बनाएको बुझ्न सकिनछ ।
एमालेको भातृ संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै २५ जेठमा प्रधानमन्त्री ओलीले उमेर हदको विषय फेल खाइसकेको घोषणा गरेका थिए । आफू ७४ वर्ष पुग्दा पनि एमालेको अध्यक्ष रहेको सन्दर्भसहित ओलीले उमेर हदको विषय फेल खाइसकेको बताएका थिए । ‘अहिले म ७४ चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ?’
ओली थप व्याख्या र सन्दर्भ अघि सार्दै चिनियाँ राष्ट्रपति सी जिङफिङले पनि दुई कार्यकाल मात्र कार्यकारी प्रमुख बन्ने व्यवस्था तोडेको उदाहरण दिएका थिए । ‘चीनमा दुईपटक मात्र अध्यक्ष हुन पाउने नियम बनाएको थियो’, ओलीले भने ‘सी जिङफिङको नेतृत्वको आवश्यकता देखेपछि चिनियाँ कम्युनिष्ट पार्टीले ६५ वर्षे हद लगाएको थियो, तर अहिले ७२ पुगिसक्नुभयो सी जिङपिङ ।’
अखिलको सम्मेलनमा मात्र नभएर ओलीले एमाले अध्यक्ष नछोड्ने दावी सहित बारम्बार सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । केही समय अगि मात्र एक कार्यक्रममार्फत् ओलीले अझै २०–२५ वर्ष कुर्न आग्रह गरेका थिए ।
यो अभिव्यक्तिको पृष्ठभूमिमा झापामा २४ जेठमा आयोजित एउटा कार्यक्रममा भण्डारीको उपस्थिति थियो। पूर्वराष्ट्रपति भण्डारी २४ जेठमा ओलीको गृहजिल्ला झापाको विर्तामोडस्थित देवी माविले आयोजना गरेको विज्ञान तथा प्रविधि प्रदर्शनी उद्घाटनका लागि पुगेकी थिइन्।
त्यसअघि उनी विराटनगरमा आयोजित स्थानीय तहका उपमेयर–उपाध्यक्षहरूको भेलामा थिइन्। विराटनगर (मोरङ) एमालेमा संस्थापन पक्ष र इतरपक्षको शक्ति प्रदर्शनस्थल बनेको छ। त्यही विराटनगरमा आयोजित स्थानीय तहका उपप्रमुखहरूको भेला उद्घाटन गरेर भण्डारी झापा पुगेकी थिइन्। आफ्नो गृहथलोमा भण्डारीको यो सक्रियतालाई ओलीले आफू (विरुद्ध) लक्षित ठानेका हुन सक्छन्।
नेकपा स्थापनाको ७६ औँ वर्षगाँठका अवसरमा ९ वैशाख (२०८२) मा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ७४ वर्षीय ओलीले ‘म त २०–२५ वर्षपछि मात्र बुढो हुन्छु’ भन्ने दाबी गरे।
७४ वर्षीय ओलीले अबको २५ वर्ष नछोड्ने भन्नुको अर्थ ९९ वर्ष पुग्दा समेत उनी एमालेको अध्यक्ष बन्न चाहन्छन् त भन्ने गम्भीर प्रश्न उठेको छ । त्यसको प्रतिवादमा एमालेभित्र कसैको पनि सार्वजनिक आवाज सुनिएको थिएन । तर आइतबार एक टेलिभिजनको अन्तर्वार्ता कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र ७० वर्षे उमेर हदको प्रबन्ध कायमै रहेको दावी गरेका छन् ।
‘हाम्रो पार्टीको विगतको महाधिवेशनले दुई कुरा नेतृत्वको बारेमा गरेको छ । एउटा कुरा– उमेरको सीमा तय गरेको छ, ७० वर्ष । अर्को– लगातार दुईपटक भन्दा बढी कार्यकारी नहुने, डिस्कन्टिन्यू हुनुपर्छ भन्ने प्रावधान छ’ पोखरेलले भनेका छन् ।
तर एकीकृत समाजवादी सहितका केही पार्टीबाट आउने नेताहरुका लागि भनेर अन्तरिम कालका निम्ति ७० वर्षे सीमा हटाइएको पोखरेलले तकै गरेका छन् । ‘त्यो व्यवस्था (पार्टी सचिवालयबाट ७० वर्षे उमेर सीमा निलम्बन गर्ने निर्णय) फर द टाइम बिइङ अन्तरिम एरेन्जमेन्ट गरेको हो, त्यो चाहिँ आउने महाधिवेशनले अनुमोदन गर्छ कि गर्दैन हेर्नु पर्नेछ’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भनेका छन् ।

तर आफ्नो अभिमत उमेर हदको व्यवस्था कायमै राख्नेमा हुने पनि पोखरेलले अन्तर्वार्तामा भनेका छन् । ‘दुई कार्यकालपछि डिस्कन्टिनिउ हुनपर्छ भन्ने हामीले लामै छलफल गरेर तय गरेको विषय थियो । त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा छु म चाहिँ’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भनेका छन् ।
हाम्रो पार्टीको विगतको महाधिवेशनले दुई कुरा नेतृत्वको बारेमा गरेको छ । एउटा कुरा– उमेरको सीमा तय गरेको छ, ७० वर्ष । अर्को– लगातार दुईपटक भन्दा बढी कार्यकारी नहुने, डिस्कन्टिन्यू हुनुपर्छ भन्ने प्रावधान छ( ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्ष, एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको सार्वजनिक अभिव्यक्ति धेरेका निम्ति अनेपिक्षत छ ।
यस अघि १९ जेठ २०८० मा बसेको एमाले सचिवालय बैठकले ७० वर्षे उमेर हदको व्यवस्था निलम्बन गर्ने निर्णय गरिसकेको थियो । ‘पार्टी विधानमा रहेको ७० वर्षको उमेर हद हाललाई निलम्बन गर्ने’, त्यो सचिवालय बैठकको निर्णय थियो ।
धेरैले सचिवालयकै निर्णय विधान महाधिवेशनबाट अनुमोदन हुने र ओली नै एमाले अध्यक्षमा तेस्रोपटक चयन हुने अनुमान लगाइरहेका छन् । ०७१ असारमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट पहिलोपटक एमाले अध्यक्ष निर्वाचित भइरहँदा नै ओलीले पुरा कार्यकाल पनि नचलाई नेतृत्व हस्तान्तरण गर्ने सार्वजनिक प्रतिबद्धता गरेका थिए ।ओलीप्रति असन्तुष्टहरुले पूर्व राष्ट्रपति विद्या देवी भण्डारीलाई पार्टी अध्यक्ष बनाउनु पर्ने पैरवी गर्दै आएका छन् । भण्डारी पार्टी राजनीतिमा सक्रिय भएकी छन् । उनले राष्ट्रपति भएपछि अन्त्य गरेको पार्टी सदस्यतालाई गत वर्ष नै नवीकरण गरेर एमाले नेताको हैसियतमा सक्रिय हुँदै आएकी छन् ।
दशौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि ओलीले आफ्नो विकल्प खोज्नेहरुलाई एमाले र देश विरोधीको संज्ञा दिन थाले । २०७८ मंसिरमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनमा पनि ओलीकै निम्ति पार्टी विधान–२०४९, लाई संशोधन गरेका थिए ।
‘महाधिवेशन हुँदा ७० वर्ष नघाघेको’ भन्ने व्याख्या गरेर ओली अध्यक्ष दोहोरिएका थिए । ११ फागनु २०७८ मा ओली ७० वर्ष पूरा हुने भएकाले मंसिरमै महाधिवेशन गरिएको थियो । तर ७० वर्षे उमेर सीमाकै कारण पार्टीका संस्थापक नेता अमृतकुमार बोहराले कार्यकारी भूमिकाबाट विदा लिएका थिए ।
विभिन्न नेताहरुका अनुसार इश्वर पोखरेल मात्र नभएर एमालेभित्र ठूलो संख्याका नेताहरु ७० वर्षे उमेर हदकै पक्षमा छन् । ‘ईश्वर पोखरेलले बोल्नुभयो, अरु नेताहरुको नाम अहिले नभनौं । तर सचिवालयमा बहुमत सदस्य ७० वर्षे उमेर हद राख्नुपर्ने पक्षमा हुनुहुन्छ’, स्रोत भन्छ । एमालेको दोस्रो विधान महाधिवेशन आगामी २०–२२ भदौमा तोकिएको छ ।
यदि विधान महाधिवेशनबाट उमेर हदको व्यवस्था कायमै राख्ने निर्णय भयो भने ओलीले पार्टी नेतृत्व छोड्नुपर्नेछ । उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र रामबहादुर थापाहरु पनि विदा हुनेछन् । अहिले पोखरेल ७२, ज्ञवाली ७१, शाक्य ७१ र थापा ७० वर्ष पुगे ।
महाधिवेशन कहिले त ?
एमालेभित्र ७० वर्षे उमेर हदको एजेण्डा पेचिलो बन्न सक्ने बलियो आधार भने स्वयं अध्यक्ष ओली हुन् । किनकि ओली पार्टी अध्यक्षमा रहिरहन एक वर्ष अगाडि नै ११औं महाधिवेशन गर्ने तयारीमा लागेका छन् ।
एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी पनि आगामी हिउँदमा ११औं महाधिवेशनको सम्भावना रहेको बताएका छन् । संगठन विभाग प्रमुख रहेका अधिकाले भने ‘विधान महाधिवेशन भएको कति समयपछि महाधिवेशन गर्ने भन्ने प्रष्ट वैधानिक व्यवस्था छैन, तर यो हिउँदमा महाधिवेशन हुने सम्भावना छ’ ।
२०८३ सालमा महाधिवेशन गर्दा आमचुनावमा असर पर्ने भएकाले पनि छिट्टै महाधिवेशन गर्ने तयारी भइरहेको उनी तर्क गर्छन् । ‘आमचुनावलाई असर गर्ने भएकाले पनि यसैवर्ष महाधिवेशनको सम्भावना रहेको हो’ उनी भन्छन्, ‘अघिल्लो पटकको अभ्यासले पनि विधान महाधिवेशन लगत्तै महाधिवेशन गर्ने हो ।’
२०७८ असोजमा प्रथम विधान महाधिवेशन गरेको एमालेले त्यसै वर्षको मंसिरमा दशौं राष्ट्रिय महाधिवेशन गरेको थियो । त्यसआधारमा २०८३ मंसिरसम्म एघारौं महाधिवेशन गर्नुपर्ने र यही बीचमा विधान महाधिवेशन हुनुपर्छ । तर सके प्रधानमन्त्री बहाल रहेकै बेला नभएपनि विवाद बढी बल्झिनु भन्दा पहिले नै ओलीले पार्टी महाधिवेशन गर्ने पक्षमा रहेको बताइएको छ ।
ओलीको विकल्पमा विद्या भण्डारीलाई पार्टी अध्यक्ष बनाउनु पर्ने पक्षमा खुला रुपले नै पोलिटव्युरो सदस्यहरु कर्ण थापा र गोकुल बास्कोटाले प्रचार गरिरहेका छन् । पछिल्लो पटक त्यो लहरमा बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पनि उभिन आइपुगेका छन्।
एमालेभित्र जनवर्गीय संगठनहरु मध्ये पनि महिला र युवासंघ भण्डारीको पक्षमा लागिरहेको दावी गरिन्छ । त्यसो त देशको सवै भन्दा ठूलो र व्यवथित मानिएएको दल एमालेको नेतृत्व परिवर्तनका सन्दर्भमा भूराजनीतिक चासो समेत बढेको छ । केही दिन अघिमात्र एमाले नेताको हैसियतमा नै भण्डारीको चीन भ्रमण भएको छ भने निकट भविष्यमा नै उनको भारत भ्रमणको समेत तयारी भइरहेको स्रोतहरुले दावी गरेका छन् ।
तर प्रधानमन्त्री भएको एक वर्षसम्म ओलीको भारत भ्रमण हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्