ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चर्खाबाट आयआर्जन गर्दै महिला


admin

चितवन, १५ साउन । चितवन पदमपुरका ६० वर्षीया वृद्धा सुखमाया तामाङ हातमा ऊनीको धागो च्यापेर आउनुभयो । तौलँदा दुई किलो १०० ग्राम भयो ।

चाउरी परेको अनुहारमा चमक देखिन्थ्यो । उहाँले भन्नुभयो – “अलेली सहयोग हुन्छ । एकछिन एकछिन हो बाबु । भँैसी छ, बाख्रा छ, त्यो एकछिन एकछिन बस्या बेला गर्ने हो । यसमा मात्रै ध्याउन्न हुन्न ।” दुई दिनको फुर्सदको समय निकालेर दुई किलो १०० ग्राम धागो काट्नुभएका सुखमायाँले झण्डै रु ३०० बुझेर जानुभयो ।

एकै छिनमा यसैगरी धागो च्यापेर संस्थामा आउनुभयो वृद्ध हिमलाल घले । चार दिनमा दुई किलो ऊन तयार पारेको बताउने उहाँ संस्थाबाट रु २८० बुझेर जानुभयो । महिलाले सिकेको कामले पुरुषलेसमेत फाइदा लिँदै छन् भन्ने उदाहरण उहाँ हुनुहुन्छ ।

पहिले यहाँका महिलालाई रु १०० जम्मा गर्न धौधौ थियो । चर्खा कार्यक्रम शुरु भएपछि उनीहरुलाई वैकल्पिक पेशा गर्न ऊर्जा मिलेको छ । एकसय बचत गर्न नसक्नेहरु अहिले सहकारीमा १२ हजार रुपैयाँ भन्दा बढी जोहो गर्न सफल भएका छन् ।

चर्खा घुमाउने पेशा पछिल्लो समयमा जहीँतहीँ देखिँदैन । फाट्टफुट्ट देखिए पनि यो पेशा हराउँदो छ । आधुनिक प्रविधिको विकाससँगै ऊनीको धागो काट्ने घरेलु प्रविधिको यो पेशाले स्थान पाएको देखिँदैन ।

हराउँदै गएको यो पेशा चितवनको पूर्वीक्षेत्र पदमपुरमा भने कायमै छ । यहाँका स्थानीय महिला अहिले फुर्सदको समयको भरपूर उपयोग गर्दै चर्खा घुमाउँछन् । कालिका नगरपालिका– २ पदमपुरका बुद्धिमाया घले पनि ऊन काट्नुहुन्छ । चर्खा चलाएपछि यहाँको महिलामा फुर्सदको समय मजैले सदुपयोग भएको र आम्दानी पनि बढेको बुद्धिमायाको अनुभव छ ।

उहाँमाथि कच्चा पदार्थ (भेंडाको रौँ) ल्याउने, दिदीबहिनीलाई धागो काट्न लगाउने र तयारी ऊन बनाएर फेरि पठाउने व्यवस्थापनको जिम्मा छ । यो गरेबापत उहाँले १० प्रतिशत ‘कमिसन’ पाउनुहुन्छ । यहाँ अहिले २६० महिलालाई चर्खा वितरण भएको छ । एक सय २० जना चर्खा समूहमा आबद्ध छन् ।

गाउँमा उनीहरु नै संलग्न भएर खोलेको चेतना चेली बहुउद्देश्यीय सहकारीले पनि ८० जना महिलालाई चर्खा दिएको चर्खा समूहका सचिव तथा सहकारीका अध्यक्ष सत्यादेवी श्रेष्ठ बताउनुहुन्छ । अहिले बुढापाका, महिला सबैले सानो कमाइसमेत बचत गर्न थालेको उहाँ बताउनुहुन्छ । रु १०० जम्मा गर्न नसक्नेको अहिले १२ हजार रुपैयाँसम्म सहकारीमा जम्मा भइसक्यो ।

“त्यही हो मासिक १०÷१५ क्विन्टलसम्म ऊन बन्छ,” बुद्धिमायाले भन्नुभयो – “गाउँका महिलाले नजानिँदो किसिमले आम्दानी गरेका छन् ।” चर्खा चलाएर एक किलो ऊन काटेको ज्याला रु १४० छ । फुर्सदको समयमा महिला दिनमा दुई किलोसम्म ऊन काट्छन् । सहयोग पाउने हो भने यहीँ व्यवस्थापन गर्नसक्ने उहाँ बताउनुहुन्छ ।

वैकल्पिक तरिकाबाट वन संरक्षणका लागि जिल्ला वन, चितवन निकुञ्ज, स्थानीय सामुदायिक वन, हरियो वन कार्यक्रमको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषले यहाँका विपन्नलाई समेटेर चर्खा कार्यक्रम सञ्चालन गरेको हो ।

कोषका कार्यक्रम अधिकृत सन्तोष भट्टराईका अनुसार पहिले महिला फुर्सद भएपछि दाउरा संकलन गरेर बिक्री गर्थे । अहिले फुर्सदको समय सदुपयोग गरेर घरमै आर्थिक उपार्जन गर्छन् । जंगलमाथिको मानवीय चाप घटाउन चर्खा कार्यक्रम ल्याइएको कोषका कार्यक्रम सहायक परमानन्द गर्ग बताउनुहुन्छ ।

चर्खा उनीहरुको वैकल्पिक पेशा हो । अन्य समयमा अरु नै काम गर्ने भएकाले फुर्सदको समय खेर गएको छैन । पहिले पहिले फुर्सद भयो कि जंगल जाने, दाउरा खोज्ने, अनि बिक्री गर्ने चलन अहिले चर्खाले हटाउँदै लगेको छ ।

कच्चा पदार्थ दिने र उत्पादित ऊन तथा गलैँचा लिने काम युनिक ऊनी धागो उद्योग काठमाडाँैले गर्छ । उद्योगका सञ्चालक मोहन सुवेदी अहिले मेसिनका कारण हातले बुनेको ऊनको माग घट्दै गएको दुखेसो गर्नुहुन्छ ।

“कोहीकोही हातले नै बुनेको भनेर अर्डर गर्नुहुन्छ, उनीहरुका लागि जेनतेन धानेका छौँ,” सुवेदीले भन्नुभयो – “नेपालीले खपत गर्न सक्दैनन्, सबै बाहिर पठाउनुपर्छ । अर्डर नै छैन बाहिर, मजदुरलाई काम दिनै गाह्रो भो ।”

चर्खामा धागो काटदै : चितवनको पदमपुरमा चर्खामा धागो काटदै बुद्धिमायाँ घले । तस्बिर : नारायण ढुंगाना/रासस

गलैँचासमेत बुन्न थाले महिला 
सामुन्नेमा बुट्टैबुटा भएको नक्शा छ । छेउमा फरकफरक रङ्गका पाँच÷सात वटा डल्ला ऊन छन् । ती ऊन नम्बरअनुसारका छन् । अगाडि गलैँचाको तानमा नक्शा हेर्दै गलैँचा बुन्दै हुनुहुन्छ पदमपुरका लीला लामा ।

“कुन ठाउँमा कुन रङ्गको बुट्टा राख्ने पहिल्यै खुट्याउनु पर्छ, नत्र बुट्टा मिल्दैन” लामाले भन्नुभयो – “धेरै बुट्टा भएको गलैँचा बुन्न साह्रै दिमाग लगाउनुपर्छ ।” कुन बुट्टामा कति नम्बर धागो जान्छ भन्ने कुरा महत्वपूर्ण हुने उहाँ बताउनुहुन्छ ।

घर बनाउने मजदुर हुनुहुन्थ्यो लीला । टपटपी पसिना चुहाएर घोटिनुपथ्र्याे । न शरीरलाई सुविस्ता न स्वास्थ्यको ख्याल । कहिले त महिनौँसम्म पनि काम पाइन्थेन । तीन बच्चा र श्रीमान्सहितको पालनपोषणको जिम्मा उहाँकै थियो ।

‘कतिन्जेल यो श्रम गर्ने, बल छउन्जेल त हो अनि के गर्ने ?’ उहाँको मनमा खुल्दुली हुन्थ्यो । त्यसपछि चर्खा चलाउन थाल्नुभयो । शुरुमा चर्खाबाट राम्रै आम्दानी गर्नुभएका उहाँले अझै आम्दानी बढाउन गलैँचा बुन्दै हुनुहुन्छ ।

“काठमाडौँमा १५ वर्षअघि सिकेको शीप अहिले काम लाग्यो,” हाँस्दै बुद्धिमायाले भन्नुभयो – “एक महिनामा एउटा सजिलै तान खस्छ ।”

“घर बनाउनेमा दैनिक काम हुन्न, यो भित्र बसेर बुन्ने हो, जति छिटो बुन्यो आफूलाई फाइदा, यो त सजिलो पेशा भएर लेबर छाडेको”– विगतको अनुभव सुनाउँदै उहाँले भन्नुभयो ।

पछिलो समयमा यहाँका महिलाले गलैँचासमेत बुन्न शुरु गरेका छन् । देवी विक, लीला लामा, ललिता प्रजा, बीमा थिङ र शान्ति गुरुङ गलैँचा बुनेर आम्दानी बढाउँदै हुनुहुन्छ । सामान्यतः एक थान गलैँचा बुनेको उहाँहरुले सात हजार ज्याला पाउनुहुन्छ । एक थान गलैँचाको बढीमा १८ हजार रुपैयाँसम्म पाउने गरेको बुद्धिमायाको भनाइ छ । चितवनको पदमपुरबाट पाँच वटा गलैँचा बुनेर पठाइसकिएको छ । गरिब न्यून आय भएकाका लागि यो कार्यक्रम निकै उपयोगी छ ।

यसरी शुरु भयो चर्खा कार्यक्रम 
तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषले विसं २०६१ बाटै पाँच समूह गठन गरेर चर्खा कार्यक्रम ल्याएको थियो । बुद्धिमायाकै नेतृत्वमा यहाँ १०० चर्खा बाँडियो । चितवन निकुञ्जको जंगलबीचमा बसेको साविक पदमपुर गाविस नै स्थानान्तरण भएकाले उहाँहरुलाई आयआर्जनमा सहज पार्न यो कार्यक्रम शुरु गरिएको थियो ।

कोषका प्रमुख डा चिरञ्जीवी पोखरेल विपन्नलाई जंगलमा आश्रित हुन नपरोस्, उनीहरुको फुर्सदको समयको सदुपयोग होस् र आय बढोस् भन्ने उद्देश्य कार्यक्रमको रहेको बताउनुहुन्छ ।

व्यवस्थापन अभावमा विसं २०६४ मा चर्खा कार्र्यक्रम बन्द भएको बुद्धिमाया बताउनुहुन्छ । विसं २०७० को जेठ महिनादेखि कार्यक्रम पुनः सञ्चालनमा आयो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com