रुकुम पश्चिम, ६ जेठ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरु समाजवादी क्रान्तिको तयारीमा रहेको बताएका छन् । पार्टी जागरण अभियानअन्तर्गत मध्यपहाडी लोकमार्ग यात्रामा रहेका प्रचण्डले मंगलबार रुकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै तत्कालीन ‘जनयुद्ध’ताका पनि आफू यहीं भेगमा आएर जनताबाट क्रान्तिको अनुमोदन गरेको स्मरणसमेत गरे । आफूहरुले लडेर ल्याएको गणतन्त्रलाई कमजोर बनाउन विभिन्न खेल भइरहेको अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘अब पहिलेजस्तो भूमिगत भएर र हतियार उठाएरभन्दा पनि सडक र सदनबाट समाजवादी क्रान्तिलाई सफल बनाउन लाग्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र कुनै पनि प्रकारका विवाद कायम रहिरहन नहुने भन्दै आफू पार्टीको सिपाही भएको र सिपाहीकै रुपमा व्यवहार गर्न चेतावनीपूर्ण धारणा राखेका थिए । जवाफमा अध्यक्ष प्रचण्डले विभिन्न बेलामा पार्टीबाट धेरै नेता–कार्यकर्ताहरुले अनुशासनहीन काम गरेको तर आफूले अध्यक्षको हैसियदबाट कुनै पनि कारबाही नगरेको बताए । ‘मैले कसैप्रति कारबाहीको डन्डा चलाएको छैन । जो पार्टीबाट गए । उनीहरु आफ्नो मर्जीले गएका हुन् । हामीले कारबाही गरेर हैन,’ उनले भने ।साथै प्रचण्डले ‘जनयुद्ध’ताका आफू रुकुम, रोल्पाका विभिन्न गाउँबस्तीमा पुगेर पार्टी–संगठनका कामहरु गरेको प्रसंगलाई पनि उल्लेख गर्दै ती दिनहरुको सम्झना पनि गरे ।
‘जनयुद्धका बेला पार्टीभित्र निकै ठूला आन्तरिक विवाद र बहसहरु हुन्थे, त्यो बेला म रुकुम, रोल्पा र सल्यानका बस्तीमा आएर यहाँका जनतालाई भेट्थे अनि उनीहरुका कुरा सुनेर पार्टी दस्तावेज तयार गर्थे ।’







प्रतिक्रिया दिनुहोस्