काठमाडौं, ४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू दैलेखी भएको बताएका छन् । आइतबार दैलेख सदरमुकाममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उनले आफ्नो पुर्खा दैलेखी नै भएकोले आफुपनि दैलेखी भएको बताए ।
‘केही समयअघि प्रधानमन्त्रीकै हैसियतमा दैलेखको दह गाउँमा आएर हाम्रो पुर्खाहरूको सालिक अनावरण गरेको थिएँ,’ उनले भने, ‘आज म तपाईँहरू दैलेखवासीकै अगाडि उभिएर म पनि दैलेखी नै हुँ भन्दा गर्व लागेको छ ।’ दैलेख आफ्नो पुर्खाहरूको थलो भएकाले विशेष महत्त्व लाग्ने गरेको पनि उनले बताए । दैलेख जिल्लाको दुल्लु नगरपालिका ३३ वटा जातजातिको थलो हो । दुल्लुकै दह गाउँ दाहालहरूको उद्गम थलो हो । प्रचण्डले दैलेखमा जनयुद्धका क्रममा भएका केही कमजोरीलाई स्मरण गरे । युद्धका क्रममा माओवादीको कमजोरीका कारण ‘दुल्लु विद्रोह’ भएको थियो । त्यहाँ जनताहरू माओवादी विरुद्ध एकजुट भएर आन्दोलन नै गरेका थिए । उक्त घटनाले माओवादीभित्र एक खालको तरङ्ग नै पैदा गरेको थियो । प्रचण्डले भने, ‘जनयुद्धको वेलामा पनि दैलेखमा केही विवाद, कमीहरू पनि भएका थिए, त्यसलाई हामीले सच्याएका थियौँ ।’







प्रतिक्रिया दिनुहोस्