काठमाडौं २९ बैशाख । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्नेबारे बिहीबार टर्कीको इस्तानबुलमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘व्यक्तिगत रूपमा’ वार्ता गर्न तयार रहेको बताएका छन्।
अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई टर्कीमा रुससँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव स्वीकार गर्न भनेपछि जेलेन्स्कीबाट उक्त बयान आएको हो।
‘अब अरू ज्यान गुमाउनुको कुनै अर्थ छैन। म आफैँ बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु’, जेलेन्स्कीले एक्समा लेखेका छन्।
जेलेन्स्कीले यसअघि नै युक्रेन रुससँग वार्ता गर्न तयार रहेको तर पहिलो सर्त युद्धविराम लागु हुनुपर्ने बताइसकेका छन्।
ट्रम्पको बयानपछि पुटिनले प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए।
ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत युक्रेनले यो प्रस्ताव तुरुन्तै स्वीकार गर्नुपर्ने बताएका थिए।
प्रतिक्रिया दिनुहोस्