काठमाडौ २८ बैशाख । मित्रता र सद्भावनाको एक महत्वपूर्ण सङकेतको रुपमा नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले आज नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा। आरजु राणा देउवालाई १५ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गर्नुभयो । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने विषयमा यही जेठ २–४ गतेसम्म काठमाडौंमा हुन लागेको ‘सगरमाथा सम्वाद’ को पहिलो संस्करणको प्रभावकारी आयोजनालाई सहजीकरण गर्न नेपाल सरकारलाई लजिस्टिक सहयोगको लागि भारतको तर्फबाट उपहारस्वरुप यी सवारी साधन प्रदान गरिएको हो ।
२। नेपाल सरकारको आग्रहमा हस्तान्तरण गरिएका यी सवारी साधनहरु सम्वाद सञ्चालनका लागि लजिस्टिक व्यवस्थालाई थप बढाउन उपयोगी साबित हुनेछन् ।
३। हस्तान्तरण समारोहमा बोल्दै राजदूतले यी सवारी साधनहरुले सम्वादको समयमा अतिथि र अधिकारीहरुको आवागमनलाई सहज बनाउन मद्दत गर्ने कुरा उल्लेख गर्नुभयो । वहाँले सन् २०२२ मा संघीय र प्रदेश सभा निर्वाचन सञ्चालनका लागि भारत सरकारले कानून कार्यान्वयन गर्ने निकायहरु र नेपाल निर्वाचन आयोगलाई प्रदान गरेको यस्तै लजिस्टिक सहयोगको स्मरण गर्नुभयो । वहाँले सम्वादका लागि नेपाल सरकार र जनतालाई शुभकामना व्यक्त गर्नुभयो र पारस्परिक प्रगति र विकासलाई प्रवद्र्धन गर्न नेपालसँग साझेदारी गर्ने भारतको निरन्तर प्रतिबद्धतामाथि जोड दिनुभयो ।
४। नेपाल सरकारको तर्फबाट सवारी साधनहरु ग्रहण गर्दै माननीय परराष्ट्रमन्त्रीले सम्वादको आयोजनालाई सहजीकरण गर्न भारतले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो । वहाँले भारतको भूमिकालाई नेपालको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विकास साझेदारहरुमध्ये एकको रुपमा स्वीकार गर्नुभयो ।
५। भारत र नेपालबीच बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुवै देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्छ । यस्ता लजिस्टिक व्यवस्थाको विस्तारले जनता–जनताबीचको सम्बन्धको विस्तारमा योगदान पुर्याउन भारत सरकारले गरेको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।








प्रतिक्रिया दिनुहोस्