काठमाडौँ, २२ वैशाख । राष्ट्रिय सभा सदस्यहरूले विभिन्न विकास निर्माणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्। नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटको भेरी नदीमा पुल बन्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
उनले उक्त नदीमा पुल निर्माण कहिलेसम्म हुन्छ भन्नेबारे सम्बन्धित मन्त्रालयसँग जवाफ माग गरे। उनले टेन्डर मागको प्रक्रिया सुरु गर्ने भनिएको ६ महिना बितिसकेको उल्लेख गर्दै अब कहिले निर्माण प्रक्रिया सुरु हुन्छ भनी प्रश्न गरे।
उनले भने, ‘मध्यपहाडी लोकमार्ग नेपालको राष्ट्रिय गौरवको आयोजना हो। यो आयोजनाले पूर्व–पश्चिमका २६ जिल्लामा यातायातको सञ्जाल विस्तार गर्ने उद्देश्य राखेको छ। तर जाजरकोटको मन्तविर र रुकुम, चौरजार र कुदु जोड्ने भेरी नदीमा सडक पुल हालसम्म नबन्दा उक्त आयोजनाले गति लिन सकेको छैन। पुलको टेन्डर छिट्टै हुने भनिएको ६ महिना बितिसकेको छ। अर्थ मन्त्रालयले स्रोत सुनिश्चितताको सहमति दिन नसकेको भनिएको छ। यसको सत्यतथ्य के होरु कति कारणले टेन्डर हुन सकेको छैन र कहिले हुन्छरु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत जवाफका लागि जोडदार माग गर्दछु।’
नेकपा ९एकीकृत समाजवादी० का सांसद घनश्याम रिजालले नेपाल–चीन जोड्ने दोलखाको लामाबगर नाका सञ्चालनमा सरकार उदासीन देखिएको बताउनुभयो। उनले पर्यटनलगायत आयात–निर्यातबाट उल्लेख्य राजस्व वृद्धि हुने भएकाले उक्त नाका सञ्चालन र पूर्वाधार निर्माण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘नेपाल–चीनबीचको पुरानो व्यापारिक नाकामध्ये दोलखा जिल्लाको लामाबगर नाका पनि एक हो। विगतमा उक्त नाकाबाट नेपाल–चीनबीच व्यापार हुने गरेको थियो। नेपालले उल्लेख्य राजस्व संकलन गर्ने गरेको थियो। सोही नाका हुँदै त्रिदेशीय व्यापार गर्ने उद्देश्यका साथ २०५० को दशकमै भन्सार, अध्यागमनलगायतका कार्यालयहरू स्थापना गरिएको थियो। २०५२ देखि सुरक्षाको कारण देखाउँदै नाका सञ्चालन हुन सकेको छैन। आयात–निर्यात र पर्यटनको माध्यमबाट नेपालले उल्लेख्य लाभ लिन सक्ने अवस्थामा पनि सरकारले देखाएको उदासीनता निन्दनीय छ। त्यसैले बाँकी ३ किलोमिटर सडक जोड्न र नेपाल–चीन–भारत जोड्ने नाका सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’
नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले काठमाडौँ–नारायणघाट–बुटवल सडक निर्माणमा भइरहेको ढिलाइबारे सरकारको ध्यानाकर्षण गराइन् । उनले निर्माणका लागि सबै ठाउँमा एकैपटक सडक भत्काउँदा यात्रुहरूलाई सास्ती भएको बताउनुभयो। पटक–पटक म्याद थप्दा पनि सडक निर्माण नसकिनुको कारण माग गरिन् ।
उनले भनिन्, ‘काठमाडौँ–नारायणघाट–बुटवल सडक लामो समयदेखि अवरुद्ध हुँदा धेरै नागरिकले सास्ती भोग्नुपरेको छ। नारायणघाट–बुटवल दूरी जम्मा दुई–तीन घण्टाको हो। तर अहिले १५ देखि २० घण्टा लाग्ने गरेको छ। चिनियाँ कम्पनीले निर्माण गर्ने जिम्मा लिएको यो सडक दुई पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन नसक्नुको कारण के हो?’
माओवादी केन्द्रका सांसद विष्णुबहादुर विश्वकर्माले चैत १५ गतेको घटनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल पक्राउ गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए । उक्त घटनाका सहायक कमान्डरहरू जेलमा भए पनि मुख्य कमान्डर शाहलाई सरकारले पक्राउ गर्न नसकेको भन्दै उनले आपत्ति जनाए । दरबार हत्याकाण्डका योजनाकारसमेत शाह रहेको भन्दै उनले शाहलाई गिरफ्तार गरी सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।
उनले भने, ‘चैत १५ गते भएको वितण्डाले देश मर्माहत भएको छ। सहायक कमान्डरहरू गिरफ्तार भइसकेका छन्, तर मुख्य कमान्डर समातिएका छैनन्। मुख्य कमान्डर भनेका प्रतिगमनका मुख्य नायक ज्ञानेन्द्र शाह हुन्। ज्ञानेन्द्र शाहलाई अहिले पनि सरकारले समात्न सकेको छैन। दरबार हत्याकाण्डका मुख्य योजनाकार पनि तिनै हुन् भन्ने सर्वत्र चर्चा छ। ज्ञानेन्द्र शाहलाई गिरफ्तार गरियोस् र सम्पत्तिको पनि छानबिन गरियोस्।’
राष्ट्रिय सभा सदस्यहरूले आर्थिक अनियमितता, भ्रष्टाचारका उजुरी तथा राष्ट्रिय गौरवका आयोजनाहरूको कामकारबाहीबारे सरकारको ध्यानाकर्षण गराएका थिए।







प्रतिक्रिया दिनुहोस्