काठमाडौं ८ बैशाख । संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिटमाथि नियमित सुनुवाइअन्तर्गत आज पनि पेशी तोकिएको छ । मुद्दा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको छ ।
हिजोको सुनुवाइमा महान्यायाधिवक्ता रमेश बडालले सरकारको बचाउ गर्दै बहस गरेकोमा आज पनि उहाँले थप बहस गर्नुहुनेछ । त्यसपछि संवैधानिक निकायका कानून व्यवसायीहरूले बहस गर्नेछन् । संवैधानिक नियुक्तिविरुद्धका १५ वटै रिट एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको हो ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सुनुवाइ आज हुँदैछ । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई गैरकानूनी थुनामा राखेको दाबी गर्दै उनका तर्फबाट श्रीमती निकिता पौडेलले निवेदन दर्ता गराउनुभएको हो । यही निवेदनको प्रारम्भिक सुनुवाइका लागि आज पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ ।
यसअघि रविले आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए । यो निवेदनमा सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाइसकेको छ ।
उच्चको आदेश बदर गरी थुनाबाहिर राख्न माग गरिएको निवेदनको टुङ्गो लाग्न समय लाग्ने देखिएपछि उनले बन्दी प्रत्यक्षीकरणको निवेदन पनि दिएका हुन् ।








प्रतिक्रिया दिनुहोस्