काठमाडौं २६ चैत । नेपाली पत्रकार चिरन शर्माले ‘बेलायतमा स्पेल्थोन सिभिक अवार्ड २०२५’ प्राप्त गरेका छन्।
उनलाई उक्त सम्मान लन्डनस्थित स्पेल्थोन सिभिक अवार्ड ट्रस्ट्रले सोमबार साँझ स्ट्यान्समा आयोजित विशेष समारोहबीच प्रदान गरेको हो।
सन् १९८२ मा स्थापना गरिएको सिभिक अवार्ड ट्रस्टले बेलायती समुदायमा विभिन्न क्षेत्रमार्फत स्वयंसेवकका रूपमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्ने गरेको छ।
पत्रकार शर्माले नेपाली सञ्चारमाध्यममार्फत बेलायती नेपाली समुदाय र स्पेल्थोन नगरवासीबीच सामाजिक एकीकरण, सांस्कृतिक समझदारी र बलियो सम्बन्ध स्थापित गर्न उल्लेखनीय भूमिका खेलेको भनी उक्त सम्मान दिइएको हो।
नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्षसमेत रहेका शर्माले १८ वर्षदेखि नेपालब्रिटेन डट कम सञ्चालन गरिरहेका छन्।
शर्मा सिभिक अवार्ड प्राप्त गर्ने पहिलो गैरआवासीय नेपाली हुन्।
अवार्ड वितरण समारोहमा सम्बोधन गर्दै स्पेल्थोन काउन्सिलका मेयर मेड वगले समाजमा उल्लेखनीय परिवर्तन ल्याउने कार्य केवल ठूला पदमा रहेका व्यक्तिले होइन, सामान्य नागरिकले पनि गर्न सक्ने बताउँदै समुदायमा सेवा पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे।
उनले सम्मानित व्यक्तिहरूको योगदानले स्थानीय समुदाय बलियो भएको उल्लेख गर्दै प्रचारप्रसार नगरी पनि समाजमा ठूलो प्रभाव पार्न सकिने धारणा राखे।
सोही अवसरमा युवा क्लब, बेघर तथा गरिब समुदाय, असहाय सहयोग, व्यवसाय, स्थानीय चर्च तथा वातावरण परिवर्तनजस्ता विविध क्षेत्रबाट समाजमा विशेष योगदान पुर्याउने १२ जनालाई सम्मान गरिएको थियो।
अवार्ड प्राप्तिपछि प्रतिक्रिया दिँदै पत्रकार शर्माले यो सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई बेलायती नेपाली समुदायले पाएको मान्यता र योगदानको कदरका रूपमा लिएको बताए।
उनले सो सम्मानले आफूलाई समाजिक हितका लागि क्रियाशील रहन थप प्रेरणा मिलेको बताए।
कार्यक्रममा काउन्सिलका पदाधिकारीहरू, काउन्सिलरहरू, तथा स्पेल्थोन सिभिक अवार्ड ट्रस्टका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।








प्रतिक्रिया दिनुहोस्