काठमाडौं २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाउनुभएको छ ।
लामिछाने पक्राउ भएलगत्तै हिजो बेलुकी बसेको पार्टीको सचिवालय बैठकले अर्याललाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानूनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ ।
यस्तै, आज दिउँसो २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउन बैठकले निर्देशन दिएको छ ।
सम्भावित घुसपैठ, चलखेल र बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन बैठकले निर्देशन दिएको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगी गरेको कसूरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै प्रहरीले गएराति बूढानीलकण्ठको हेपाली हाइटबाट पक्राउ गरेको हो ।
लामिछानेलाई आज रुपन्देही कारागार लगिँदैछ । सङ्गठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गर्नुभएको हो ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई १ करोड रुपैयाँ धरौटी माग गरेको थियो । त्यसपछि लामिछाने साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च अदालत जानुभएको थियो ।
सरकारी वकिलको कार्यालयसमेत धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालत गएको थियो । यही प्रकरणका आरोपित पूर्वडीआईजी छविलाल जोशीले समेत जिल्लाको आदेशविरुद्ध निवेदन दिएका थिए । उच्च अदालतले तीनवटै निवेदन एउटैमा राखेर सुनुवाइ गरेपछि त्यो आदेश बदर गर्नुपर्ने ठहर गरेको हो ।
गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश पनि उच्चले सदर गरेको छ । सुप्रिम सहकारीबाट ऋण प्रवाह हुँदा रवि लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक हुनुहुन्थ्यो ।
पदमा रहेको अवस्थामा उहाँले सहकारीबाट ऋण लिएकोबारे आफूलाई केही थाहा नभएको जिकिर गर्नुभएको थियो । तर, उच्च अदालतले उहाँको बयान ‘पत्यारलाग्दो नदेखिएको’ भनेको छ ।








प्रतिक्रिया दिनुहोस्