ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजावादी–गणतन्त्रवादी प्रदर्शनः काठमाडौंमा कति मान्छे उत्रिँदैछन् ? २५ सय बढी प्रहरी परिचालन


एबीसी न्यूज
चैत्र १५, २०८१ शुक्रबार  ८ : ०२ बजे

काठमाडौं, १५ चैत्र । काठमाडौं उपत्यकामा आज गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दै छन् ।
गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् ।
राजावादीहरुको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । तर आजको प्रदर्शनको ‘कमाण्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ । समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन गर्न लागेको जनाएको छ । यसैगरी राजावादीहरुले संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि प्रदर्शन गर्न लागिएको जनाएका छन् ।
दुवै पक्षको प्रदर्शन एकै समयमा प्रदर्शन हुन थालेपछि काठमाडौं उपत्यकाभर सुरक्षा सतर्कता बढाइएको छ । सुरक्षा सतर्कता अपनाउने क्रममा राजावादीहरुको समूहलाई चक्रपथ भन्दा भित्र प्रवेश गर्न नदिने र गणतन्त्रवादीहरुलाई काठमाडौं चक्रपथभित्र सीमित गर्ने गरी रणनीति तयार पारिएको छ ।
गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुनै नदिने रणनीति अनुसार प्रदर्शन र सभा गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार गणतन्त्रवादीहरुको नेतृत्व गरेको समाजवादी मोर्चालाई प्रदर्शनीमार्गमा र राजावादीहरुलाई तीनकुनेमा सभा गर्ने ठाउँ तोकिएको छ ।
आजको जुलुस र सभालाई दुवै पक्षले शक्ति प्रदर्शनको रुपमा लिएका छन् । त्यसैले सकेसम्म धेरै मानिस काठमाडौंमा उतार्ने उनीहरुको तयारी छ । त्यसैले उनीहरुले विभिन्न जिल्लाबाट बसमार्फत् आ–आफ्ना समर्थकहरु ओसारेका छन् । उनीहरु काठमाडौं आइसकेका छन् भने केही आउनेक्रममा छन् ।
समाजवादी मोर्चाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रका एक नेताका अनुसार प्रत्येक प्रदेश कमिटीहरुलाई १०–१० हजारको दरले समर्थक भेला पार्न भनिएको छ । त्यसैगरी जनवर्गीय संगठनहरुलाई पनि ३ देखि ५ हजार जनशक्ति उतार्न भनिएको छ ।
यसैगरी विप्लव नेतृत्वको नेकपा, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका पनि नेता–कार्यकर्ता र समर्थकहरु थपिँदा मानिसहरुको संख्या अझै बढ्ने अनुमान छ ।
कति मानिस उत्रिन्छन् भनेर अहिले नै भन्न त सकिँदैन तर माओवादी केन्द्र निकट कार्यकर्ताहरुले ‘भ्रष्टाचार र बेथितिका विरुद्ध डेढ लाख गणतन्त्रवादी एकै ठाउँ’ लेखिएको पोष्टर सामाजिक सन्जालमा सेयर गरिरहेको देखिन्छ ।
दुई फरक विचारधाराका समूहबीच एकैपटक प्रदर्शन हुने भएपछि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने निश्चित छ । साथै यो प्रदर्शनमा अप्रिय घटना हुने हो कि भन्ने आशंकाले राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा चासो समेत बढेको छ । नेपालस्थित अष्ट्रेलियन दूतावासले ठूलो राजनीतिक प्रदर्शन हुन लागेको भन्दै सतर्क रहन सूचना जारी गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले पनि विहीबार काठमाडौं उपत्यकाका प्रमुख दुई जिल्ला ललितपुर र काठमाडौंका प्रहरी प्रशासनका प्रमुखहरुलाई भेटेर सुरक्षा तयारीबारे चासो राखेको छ । साथै आयोगले सुरक्षा चुक हुन नदिन सचेत गराउँदै दुवै पक्षको प्रदर्शनलाई अनुगमन गर्न आफ्ना प्रतिनिधिहरु खटिने जानकारी पनि गराएको छ । प्रहरी प्रशासन भने जतिसुकै धेरै मानिसहरु भेला भए पनि सुरक्षा चुक हुन नदिने प्रयासमा जुटेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङका अनुसार सुरक्षाका लागि २५ सय प्रहरी शुक्रबारका लागि खटाइने छ । आवश्यकता अनुसार यसको संख्या समेत बढ्न सक्ने उनी बताउँछन् । ‘सुरक्षाबारे सम्पूर्ण तयारी गरिसकेका छौं । २५ सय बढी प्रहरी परिचालन हुन्छ । आवश्यकता देखियो भने त्योभन्दा बढी पनि परिचालन हुन सक्छन्’ उनी भन्छन् । सुरक्षालाई मध्यनजर गर्दै सादा पोशाकका प्रहरी समेत परिचालन हुनेछन् । घुसपैठ हुन नदिन र घुसपैठ गर्नेहरुको पहिचान गर्न सादा पोशाकका प्रहरीले सहयोग गर्ने बताइएको छ ।
यता सशस्त्र प्रहरीले पनि सबै तयारी पूरा भइसकेको बताएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार भोलि १५ गते ५० प्लाटुन सशस्त्र प्रहरी परिचालन हुन्छन् । न्यौपानेको भनाइलाई आधार मान्दा सशस्त्र प्रहरीमात्रै साढे १७ सय परिचालन हुने देखिन्छ । सशस्त्रको एक प्लाटुनमा ३५ जनाको फौज हुन्छ ।
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले पनि पछिल्लो राजनीतिक अवस्था र १५ चैतमा हुनसक्ने सम्भावित चुनौतीको विश्लेषण गरेको छ । त्यसैलाई आधार मान्दै सशस्त्र प्रहरीले आफ्नो सुरक्षा रणनीति बनाएको छ ।
प्रहरीको सहयोगीका रुपमा सशस्त्र प्रहरी खटिने भएकाले पहिलो भीड नियन्त्रणको पहिलो भूमिका प्रहरीले निभाउने छ । यसका लागि सूचना संकलनको रुपमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को टोली पनि खटिने छ ।
राजावादीहरुको भक्तपुरतर्फबाट आउने जुलुस दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने आउने छ ।
अर्को जुलुस जोरपाटी, बौद्ध, चाबहिलबाट हुँदै तीनकुने आउने छ । यसैगरी गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउने गरी अर्को रुट तय गरिएको छ ।
यसैगरी कलंकीतर्फबाट निस्किने जुलुस पनि बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुने आउने छ ।
यता समाजवादी मोर्चाको जुलुस भने रिङरोडभित्रभित्रै भृकुटीमण्डप पुग्नेछ । बबरमहल–माइतीघर, कुपन्डोल–थापाथली, सोह्रखुट्टे–पकनाजोलबाट जुलुस निस्केर भृकुटीमण्डप भेला हुने बताइएको छ ।
समाजवादी मोर्चाले रिङरोड भित्रबाट जुलुस निकालेर भृकुटीमण्डमा पुग्ने र प्रसाईं समूह रिङरोड भित्रै प्रवेश नगर्ने भएकाले जम्काभेट र मुठभेडको स्थिति नआउने बुझाइ सुरक्षा अधिकारीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

सम्बन्धित

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com