काठमाडौं १४ फाागुन । महाशिवरात्रीको दिन आज तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको तथा यी प्रदेशका उच्च पहाडी तथा हिमाली एकरदुई ठाउँमा हल्का हिमपात हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले धेरैजसो पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
आज मौसम आंशिक बदली भएपनि काठमाण्डौमा पानी नपर्ने महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले बताउनुभयो ।
आज राति पनि देशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने अनुमान छ । यसवर्षको हिउँदयाम पर्सि शुक्रवारदेखि सकिँदैछ ।
त्यसअघि भोलि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिने र दुई दिन भोलि र पर्सि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा हिमपात, असिना र चट्याङसहित वर्षा हुनसक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
यसको प्रभाव पश्चिम नेपालका धेरैजसो ठाउँ र पूर्वका केही ठाउँमा पर्न सक्ने अनुमान छ । महाशाखाले भोलि र पर्सि मौसममा फेरबदल हुनसक्ने भएकाले आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।







प्रतिक्रिया दिनुहोस्