काठमाडौं ९ फागुन । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकलाई निष्कर्षमा पुर्याउन समितिका सदस्य दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ ।
समितिको आजको बैठकमा सभापति रामहरि खतिवडाले उपसमिति गठनको प्रस्ताव गर्नुभएको थियो । उपसमितिमा सांसद अशोककुमार राई, ईश्वरी न्यौपाने, चन्दा कार्की, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, लीलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहनुभएको छ ।
उपसमितिलाई एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
यसैबीच समितिको बैठकमा सांसदहरूले कर्मचारी प्रशासनमा गुटबन्दीको स्थिति सिर्जना भएको टिप्पणी गरेका छन् ।
बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले कर्मचारी प्रशासनमा गुटबन्दीको स्थिति सिर्जना हुनुमा राजनीतिकर्मी र मन्त्री बन्नेहरू पनि जिम्मेवार रहेको बताउनुभयो ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कर्मचारी प्रशासनलाई कसरी व्यवस्थित बनाउने रु भन्नेमा बढी जोड दिनुपर्ने बताउनुभयो ।
बैठकमा बोल्ने सांसदहरूले योग्य व्यक्तिलाई प्रतिस्पर्धामा जाने ढोका बन्द गर्न नहुनेमा पनि जोड दिएका छन् ।








प्रतिक्रिया दिनुहोस्