काठमाडौं ९ फागुन । काठमाण्डौ महानगरपालिकाको सार्वजनिक निर्माण विभागले चालू आर्थिक वर्षभित्र ३२ हजार ८ सय ५१ वर्गमिटर क्षेत्रफलमा ढुङ्गा बिछ्याउने लक्ष्य पूरा गर्न काम गरिरहेको छ ।
सार्वजनिक खरिद प्रक्रियाबाट ७ वटा प्याकेजमा ८ वटा योजना कार्यान्वयन ल्याइएकोमा ५ वटा योजना सम्पन्न भएका छन् । सम्पदा क्षेत्रको मौलिकता संरक्षण गर्ने, शहरी सुन्दरता अभिवृद्धि गर्ने, पैदलयात्रीको यात्रा सहज बनाउने उद्देश्यसहित सम्पदा क्षेत्र, पैदल मार्ग, भित्री सडक तथा गल्लीमा ढुङ्गा बिछ्याउने काम भइरहेको हो ।
यी योजना वडा नम्बर ६, ८, १२, २१, २६ र २७ तथा हनुमानढोका दरबार संरक्षण क्षेत्रमा सञ्चालन भएका हुन् । यी योजनाका लागि २८ करोड १४ लाख ९२ हजार ४ सय २७ रुपैयाँमा निर्माण पक्षसँग सम्झौता भएको छ ।
सम्पन्न ५ वटा योजनाबाट १० हजार ७ सय २९ वर्गमिटर क्षेत्रमा ढुङ्गा बिछ्याइसकिएको छ । वडा नम्बर ८ को जयबागेश्वरी मार्ग सिफल सेतो ढोकादेखि जयबागेश्वरी चोकसम्मको १ हजार ४ सय ८५ वर्गमिटर मार्गको काम सकिएको छ । वडा नम्बर १२ को ह्युमत खोल्सापाखा, ह्युमतदेखि लगनसम्मको १ हजार ८ सय २५ वर्गमिटर मार्गमा ढुङ्गा बिछ्याइसकिएको छ ।
यस्तै वडा नम्बर २१ को लगन चोकमा २ हजार ९२ वर्गमिटर क्षेत्रको काम सकिएको छ । वडा नम्बर २६ को कुमारीकृपा मार्गको १ हजार १७ वर्गमिटर क्षेत्र र वडा नम्बर ६ को रामहिटी मार्गमा ५ सय २० वर्गमिटर क्षेत्रको काम सम्पन्न भएको छ । जमलदेखि असन हुँदै इन्द्रचोकसम्मको ढुङ्गा छाप्ने काममा कमलाछी क्षेत्रमा काम सम्पन्न भएको छ ।
भोटाहिटी, असन हुँदै इन्द्रचोकसम्मको निर्माण कार्य भइरहेको छ । असनदेखि वीर अस्पताल, महाबौद्ध हुँदै चित्तधर मार्ग र हनुमान ढोका दरबार क्षेत्रमा बिजुलीको तार भूमिगत गर्ने कार्यसँग समन्वय भइरहेको छ । बिजुलीको तार भूमिगत गरेपछि ढुङ्गा बिछ्याउने काम शुरू हुने महानगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्