काठमाडौं ६ फागुन । भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले प्रहरीसहितको समूहले आफूहरूलाई कुटपिट गरेको बताएका छन्।
केआईआईटीमा बी(टेक तेस्रो वर्षमा पढ्ने नेपाली छात्रा प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा शंकास्पद अवस्थामा मृत भेटिएपछि त्यहाँ पढ्ने नेपाली विद्यार्थी न्याय माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका थिए।
विरोध प्रदर्शनबाट होस्टल फर्केपछि होस्टेल सिल गरेर कलेजका डिन, सादा पोसाकका प्रहरी र ठूलो संख्यामा गार्ड, स्थानीय गुन्डाहरू नेपाली विद्यार्थीहरूको कोठामा घुसेर आफूहरूलाई घिसार्दै निर्ममतापूर्वक कुटपिट गरेको रितेश साहले उल्लेख गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज बिहान हामी हाम्रो विरोध प्रदर्शनबाट होस्टल फर्केपछि होस्टल सिल गरियो। त्यसको केही समयपछि कलेजका डिन, सादा पोसाकमा रहेका प्रहरी अधिकारीहरू र ठूलो संख्यामा गार्डहरू, स्थानीय गुन्डाहरू हाम्रो होस्टलमा घुसे। जबर्जस्ती नेपाली विद्यार्थीहरूको कोठामा प्रवेश गरे र हामीलाई घिसार्दै बाहिर निकाले र निर्ममतापूर्वक कुटे।’
उनले घटनास्थलको भिडिओसमेत सामाजिक सञ्जालमा राख्दै नेपाली विद्यार्थीहरूलाई छुट्टाछुट्टै अज्ञात स्थानमा छाडेको उल्लेख गरेका छन्।








प्रतिक्रिया दिनुहोस्