काठमाडौं २९ माघ । एमाले सांसद गोकुल बास्कोटाले अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्ड यथाशीध्र निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले चार जना प्रधानमन्त्री फेरिए पनि चार किलोमिटर सडक निर्माण नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले त्यहाँका जनता आक्रोशित भएको उल्लेख गर्दै अब पनि सडक निर्माण नगरिए भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले ढुंगा खाने दिन आउन सक्ने बताए । उनले काभ्रे तरकारीका लागि पकेट क्षेत्र भएको उल्लेख गर्दै कोल्ड स्टोर निर्माणका लागि बजेटको व्यवस्था गर्न समेत माग गरे ।
उनले भने, ‘चार वटा प्रधानमन्त्री फेरिए । चारै वटा मन्त्री पनि । सचिव कति फेरिए थाहा छैन । चार किलोमिटर बाटो खावादेखि धुलिखेलसम्मको बनेन । भौतिकमन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्छु सभामुखमार्फत । यही कुरा भन्नु भनेका छन् जनताले । नभए ढुङ्गा खाने स्थिति बन्यो अब । दोस्रो, काभ्रेले काठमाडौँका उपभोक्ताहरूलाई १७ प्रतिशत तरकारी दिन्छ । तरकारीका लागि पकेट क्षेत्रजस्तै छ काभ्रे । त्यसकारण सरकारसँग मिलेर पाँच वटा कोल्ड स्टोर सरकारले बनाओस् । अगाडि बजेटमा यो व्यवस्था गर्न माग गर्दछु ।’ काठमाडौँका १७ प्रतिशत तरकारी काभ्रेले खपत गर्दै आएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्