काठमाडौं २९ माघ । राहदानी विभागले पासपोर्ट छपाइको आवेदन दिने समय १० दिन थप गरेको छ। एक सार्वजनिक सूचना निकाल्दै मंगलबार सकिने म्याद आगामी फागुन ९ सम्म लम्ब्याएको हो।
पछिल्लो सूचनाअनुसार ९ गते दिउँसो १ बजेसम्म आवेदन दिन सकिनेछ भने सोही दिन २ बजे प्रस्ताव खोलिनेछ। राहदानी छपाइको ठेक्का आह्वान पटक पटक विवादित बन्दै आएको छ। यसविरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालयमा समेत धेरै उजुरी परेका थिए।
कार्यालयले उजुरी सुनुवाइ गर्दै पछिल्लोपटक माघ २० गते गुनासो सम्बोधन गर्न विभागलाई पत्र पठाएको थियो। त्यसअघि पनि कार्यालयकै निर्देशनपछि विभागले टेन्डर डकुमेन्ट संशोधन गरेको थियो। डकुमेन्ट संशोधन गरे पनि म्याद नथपिएपछि कार्यालयमा उजुरी परेको थियो।
म्याद थप गर्दा प्रतिस्पर्धी धेरै सहभागी हुनसक्ने आकलन गरिएको छ। गत मंसिर १३ मा विभागले पहिलोपटक पासपोर्ट छपाइको टेन्डर आह्वान गरेको थियो। तर एक कम्पनीलाई मात्र फाइदा पुग्ने गरी टेन्डर आह्वान गरिएपछि विवादमा प¥यो।
फ्रान्सको बहुराष्ट्रिय कम्पनी आइडेमियाको प्रभावमा परी स्पेसिफिकेसन तयार गरेको आरोप लागेपछि विभागले १२ जनवरीसम्म आवेदन दिने व्यवस्थालाई १ महिना थप गरेको थियो।
अहिले त्यसलाई पनि संशोधन गरी फेब्रुअरी २१ सम्म विस्तार गरिएको हो।
प्रतिक्रिया दिनुहोस्