काठमाडौं २८ माघ । टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्यालेस्टाइनीलाई आफ्नो देशबाट विस्थापित गर्ने अधिकार कसैलाई नभएको बताउनुभएको छ । एर्दोगानले गाजाका मानिसहरूलाई उनीहरूको प्राचीन र अनन्त मातृभूमिबाट निकाल्ने शक्ति कसैसँग नभएको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । गाजा, वेस्ट बैंक र पूर्वी जेरुसेलम सबै प्यालेस्टाइनका भएको उहाँको भनाइ छ ।
इजरायल र हमासबीच युद्धविराम सम्झौता भए पनि अमेरिका र इजरायली नेतृत्वको दिमागमा अझ खराब र अमानवीय योजनाहरू आइरहेको भन्दै एर्दोगानले आपत्ति जनाउनुभएको छ । केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका सबै मानिसलाई अरू देशमा सारेर अमेरिकाले त्यहाँ विकास गर्ने र नियन्त्रणमा लिने प्रतिक्रिया दिनुभएको थियो । हिजो मात्रै उहाँले गाजाको क्षेत्र अरब देशहरुलाई बाँडेर दिन सकिने आपत्तिजनक अभिव्यक्ति पनि दिनुभएको थियो ।
यस्तै हिजो नै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले एउटा टीभी अन्तर्वार्तामा साउदी अरबलाई प्यालेस्टाइनको माया लागेको भए आफ्नै भूमि दिएर प्यालेस्टाइन राज्य स्थापना गर्न सक्ने प्रतिक्रिया दिनुभएको छ । ट्रम्प र नेतान्याहू दुवैको टिप्पणीले क्षेत्रीय र अन्तर्राष्ट्रिय आक्रोश उत्पन्न गरेको छ । धेरै देशहरूले प्यालेस्टाइनलाई आफ्नो मातृभूमिबाट विस्थापित गर्ने अभिव्यक्तिको विरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्