एउटा महत्वपूर्ण विचार क्रूरतातर्फ मोडिंदैछ, र सम्भवतः अवैधानिकतामा
यो इन्द्रेणी टेपजलाउने कार्यजस्तै हो। डोनाल्ड ट्रम्पले विविधता, समानता र समावेशिता (डिइआई) विरुद्ध युद्ध घोषणा गरेका छन्। उनले पहिले नै अमेरिकी संस्थाहरूलाई पुनःपरिभाषित गरिरहेका छन्। कम्पनीहरू आफ्नो कार्यबलमा जातीय र लैंगिक विविधता बढाउन ल्याइएका कार्यक्रमहरू परित्याग गरिरहेका छन् (वा कम्तीमा नाम परिवर्तन गरिरहेका छन्, ट्रम्पको क्रोधबाट बच्नका लागि)। यसको सबैभन्दा ठूलो प्रभाव सङ्घीय प्रशासनमा परेको छ। त्यहाँ, इलन मस्क र उनका ’डोजटेनान्ट’ को नेतृत्वमा ट्रम्पका अधिकारीहरूले डिइआई सम्बन्धी कर्मचारीहरू, कार्यक्रमहरू र ठेक्का सम्झौता हटाइरहेका छन्। सुधारको लागि आएको एउटा तार्किक विचार अब आत्मघाती क्रूरता र सम्भवतः पूर्णरूपमा अवैधानिकताको दिशामा गइरहेको छ।
ट्रम्पको डिआई विरोधी नीति अमेरिकालाई थप योग्यता–आधारित (मेरिटोक्रेटिक) बनाउने दिशामा लक्षित छ भने, यो स्वागतयोग्य हुन सक्छ। कम्पनीहरूले आफ्ना सेयरधनीहरूसँग निष्पक्ष प्रतिस्पर्धाको दायित्व राख्छन्। पछिल्ला वर्षहरूमा, कम्पनीहरूले कामदारहरूको विविधता बढाउन हस्तक्षेप गर्दा, केवल कानूनअनुसार भेदभाव नगरिएको देखाउन मात्र ध्यान दिएका थिए। यस्तो नीतिलाई परामर्शदाता कम्पनी म्याकिन्सेले विविधता र नाफाबीच सम्बन्ध रहेको अनुसन्धानबाट देखाएर समर्थन गरेको थियो। तर, यो अनुसन्धानको कार्यविधि विवादास्पद रहेको छ, कारण हो –त्यसको परिणाम–सम्बन्ध पुष्टि भएको छैन, र अन्य अध्ययनहरूले पनि फरक फरक निष्कर्ष निकालेका छन्। यस्ता नीतिहरुले उल्टै अल्पसंख्यकहरू र महिलाहरूको योग्यतामाथि शङ्का उब्जाउने जोखिममा देखाएका छन्। यसका केही अत्यधिक हस्तक्षेपहरू—जस्तै नास्ड्याकमा सूचीबद्ध कम्पनीहरूले विविध सञ्चालक मण्डल राख्नुपर्ने वा त्यसो नगर्नुको कारण खुलाउनुपर्ने नियमलाई—गत डिसेम्बरमा एक पुनरावेदन अदालतले खारेज गरिसकेको छ। चुनावपछि, गुगल, म्याकडोनाल्ड्स र टार्गेट जस्ता कम्पनीहरूले आफ्ना कर्मचारी तथा आपूर्तिकर्ताहरूको विविधता बढाउन डिजाइन गरिएका नीतिहरु हटाएका छन्।
व्यापारमा देखिने असाधारण फजुल खर्च सरकारी प्रशासनमा झनै अनावश्यक हुन सक्छ। त्यसैले, ट्रम्पले नोकरशाहीमा लागू गरिएका सकारात्मक पक्षपात (एफरमेर्टिभ एक्सन) सम्बन्धी नियमहरू हटाउने निर्णय सही हुन सक्छ। सरकारी सेवा अन्तर्गत विविधता कार्यक्रम खारेज गर्दा कति खर्च जोगिन्छ भन्ने स्पष्ट छैन, तर भेटेरन्स अफेयर्स विभागले मात्र ६० जना कर्मचारी निलम्बन गरिसकेको छ। यस्तै नियमहरू सरकारी ठेक्कामा प्रतिस्पर्धा गर्ने कम्पनीहरूका लागि पनि लागू हुन्छन्। यिनलाई हटाउँदा सरकारसँग व्यापार गर्न लागेको खर्च कम हुनेछ, जसले प्रतिस्पर्धालाई अझ बढाउने छ।
तर, ट्रम्पले आफ्नो आदेश लागू गर्ने तरिका खतरनाक र क्रूर छ। उनले अधिकारीहरूलाई सबैभन्दा खराब डिइआई उल्लङ्घनकर्ताहरूको सूची सार्वजनिक गर्न आदेश दिएका छन्, जसमा कम्पनीहरू समेत पर्छन्। कम्पनीहरूका लागि जारी गरिएको उनको अस्पष्ट ‘डिइआई–विरोधी’ आदेश केवल ’विपरित भेदभाव’ (रिभर्स डिस्क्रिमीनेशन) हटाउनेभन्दा पनि कार्यस्थलमा भएका प्रगतिशील पहलहरूलाई निष्कासन गर्ने उद्देश्यले तयार पारिएको देखिन्छ।
एन्टी–बायस तालिम, समान सोच भएका समूहहरू (एफिनीटी ग्रुप्स) र ’पहिचान महिना’ (आइडेन्टीटी मन्थ्स) जस्ता पहलहरू कतिपय अवस्थामा कम्पनीहरूको औसत प्रदर्शनसँग जोडिएका हुन सक्छन्। तर, कुनै कम्पनीले यस्ता कार्यक्रम उपयोगी देख्छ वा देख्दैन भन्ने कुरा त्यसका सेयरधनी, ग्राहक र कर्मचारीहरूकै जिम्मेवारीमा हुनु पर्छ। यो निर्णय व्हाइट हाउसको एकल आदेशबाट लादिनु हुँदैन।
राष्ट्रपतिको प्रशासनसँगको सम्बन्ध फरक हुन्छ। यहाँ ट्रम्पसँग प्रशासन कसरी सञ्चालन गर्ने भन्ने निर्धारण गर्ने वैध अधिकार छ। तर, उनी सबै दोष डिइआई माथि थोपर्ने प्रयास गर्दैछन् । गत हप्ता, कुनै प्रमाणबिना, उनले एउटा यात्रुवाहक विमान र सैन्य हेलिकप्टरबीचको ठक्करलाई विविधता–आधारित भर्ती (डाइभर्सिटी हाइरिङ) को कारण भएको भन्दै आरोप लगाए। यस घटनालाई उनले आफ्नो कठोर नीति आवश्यक छ भन्ने प्रमाणित गर्न उपयोग गर्न खोजेको देखिन्छ।
झनै नराम्रो कुरा त के छ भने, डिइआई माथिको यो हमला सरकारी कर्मचारीहरूको व्यापक सफाया (पर्ज) जस्तो देखिन थालेको छ, जहाँ उनका विश्वासपात्रहरूले कसैलाई पनि अविश्वस्नीय ठानेर हटाउने प्रयास गरिरहेका छन्। केही कर्मचारीहरू, जो अघिल्लो विविधता नीतिहरूसँग थोरै मात्र सम्बन्धित थिए, उनीहरुलाई प्नि निलम्बनमा पारिएको बताइएको छ। अमेरिकी विकास सहायता निकाय (युएसएआइडी ) बन्द गर्ने राष्ट्रपति ट्रम्पको चाहनाबारे ह्वाइट हाउसकी प्रेस सचिवले डिइआई पहलहरूको सूचीलाई नै कारणका रूपमा प्रस्तुत गरेकी छन् ।
तर, डिइआई खारेज गर्दा केहि फाइदा भए पनि, सरकार कानुन उल्लङ्घन गरेर अघि बढ्न सक्दैन। अविवेकी दमन (विट्च हन्ट्स) र संस्थाहरू ध्वस्त पार्ने कार्य सम्भवतः गैरकानुनी छन्। र, ट्रम्पले आफ्नो इच्छा पूरा गरे पनि, यस्तो अभियान अन्ततः उनकै विरुद्धमा फर्कने निश्चित छ।
द इकोनोमिष्ट, फेब्रुवरी ६, २०२५ को अनलाइन संस्करणको भावानुवाद ।
प्रतिक्रिया दिनुहोस्