विचारधारा, ढिलासुस्तीपूर्ण बजारहरू, र राजस्वको आवश्यकताले अझै पनि ठूलो शुल्क चुकाउन पर्ने हुनसक्छ
सम्झौतावाजको अर्थ चुत्थो फाइदाका लागि विनाशको धम्की दिनु हो भने, डोनाल्ड ट्रम्प त्यस कलाको मास्टर हुन्। उनले क्यानडा र मेक्सिकोलाई २५% शुल्क लगाउने धम्की दिए, जसले उत्तर अमेरिकी सीमाना पार गर्ने कार निर्माण उद्योगलाई संकटमा पार्न सक्थ्यो। तर, उनले फेब्रुअरी ३ मा तिनीहरूलाई ३० दिनको छुट दिए। यसको बदलामा, उनले अमेरिकी सीमाको सुरक्षा सुनिश्चित गर्न तिनीहरूको सहयोगमा थोरै वृद्धि पाए, जसमा १०,००० अतिरिक्त मेक्सिकन सैनिकहरू पनि समावेश थिए, साथै केही पुराना वाचाहरू दोहो¥याइएका थिए।
के “इतिहासकै सबैभन्दा मूर्ख व्यापार युद्ध“ सबैभन्दा छोटो पनि भयो? लगानीकर्ताहरूले त्यस्तै सोच्ने देखिन्छ। महिनौँसम्म, उनीहरूले ट्रम्पका धम्कीलाई वार्ताको रणनीति मात्र ठानेका थिए । तर जब शुल्क लगाउने मिति नजिकियो, अमेरिकी शेयर बजारको एस एण्ड पी ५०० सूचकांक ३% मा गिर्यो। यद्यपि, मेक्सिकोसँगको पहिलो सम्झौतापछि बजारले आफ्नो लय फर्काएको छ, र आधाभन्दा बढी घाटा पुनः प्राप्त गरेको छ।
दुर्भाग्यवश, यो निष्क्रिय आत्मसन्तुष्टि जस्तो देखिन्छ। ट्रम्पको व्यापारिक आक्रामकता केवल रणनीतिक ध्यान भट्काउने साधन मात्र हो भन्ने निष्कर्ष निकाल्नु गल्ती हुनेछ। सम्भवतः, यो त अहिले मात्र सुरु हुँदैछ।
एउटा कुरो के हो भने, चीनविरुद्ध १०% को व्यापक शुल्क वास्तवमै कार्यान्वयनमा गइसकेको छ—यसले चीनमाथि लाग्ने औसत शुल्कलाई आधाभन्दा बढीले बढाएको छ। चीनले यसको प्रत्युत्तर दिने योजना बनाइसकेको छ, जुन फेब्रुअरी १० देखि लागू हुनेछ। त्यहीँ, ट्रम्पले थप प्रहार गर्ने वाचा गरेका छन्, सम्भवतः युरोपेली संघ र ताइवानविरुद्धका धम्कीहरू पूरा गर्नका लागि।
अर्कोतर्फ, राष्ट्रपतिले वास्तवमै विश्वास गर्छन् कि शुल्कहरूले अमेरिकी अर्थतन्त्रलाई फाइदा पुर्याउनेछन्। यो सत्य हो कि पहिलो कार्यकालमा ट्रम्प पटक–पटक शुल्क लगाउने धम्कीबाट पछि हटेका थिए; अमेरिकाको औसत प्रभावकारी शुल्क दर मात्र १.५ प्रतिशत अंकले बढ्यो। तर, सधैं एक शोम्यानका रूपमा, उनले अमेरिकाको प्रभाव देखाएर र आफ्ना विजयहरूमा घमण्ड गर्दै आफ्ना समर्थकहरूलाई उत्साहित पार्ने प्रयास गर्छन्।
तर, उनले बारम्बार बलपूर्वक अमेरिकाको पुनः औद्योगीकरणको आफ्नो दृष्टिकोण प्रस्तुत गर्छन्। उनले उत्पादकहरूलाई शुल्क तिर्ने वा अमेरिका भित्रै उद्योग स्थानान्तरण गर्ने बीच छनोट गर्न बाध्य पार्न चाहन्छन्—जसलाई उनले कम–कर, विनियम–मुक्त व्यापारिक स्वर्ग बनाउने वाचा गरेका छन्। साथै, उनले अमेरिकाले व्यापार घाटा गर्ने मुलुकहरूको आलोचना गर्छन्, जसलाई उनले “अनुदान“ भनेर व्याख्या गर्छन्, मानौं कुनै विदेशीबाट सामान किन्नु उपहार हो, व्यापार होइन। साथै, उनले १९औं शताब्दीको उत्तरार्धमा, विशेष गरी विलियम म्याककिन्ली जस्ता राष्ट्रपतिहरूको शासनकालका, संघीय बजेटको प्रशंसा गरेका छन्, जतिबेला अमेरिका संघीय आयकर नहुँदा मुख्यतः शुल्कहरूबाट राजस्व संकलन गथ्र्यो।
यसले शुल्कहरूबाट डराउनु पर्ने सबैभन्दा ठूलो कारणतर्फ संकेत गर्छ—संघीय सरकारलाई पैसाको आवश्यकता छ। २०२४ मा यसमा घाटा कुल गार्हस्थ्य उत्पादन (जीडिपी) को ६.९% थियो। आधिकारिक अनुमानहरूले देखाएअनुासार यो ५% माथि नै रहनेछ, ट्रम्पको पहिलो कार्यकालका धेरै कर कटौतीहरू २०२५ को अन्त्यसम्म समाप्त हुने अपेक्षा गरिए तापनि।
वास्तवमा, रिपब्लिकनहरू ती कर कटौतीहरू नविकरण गर्न मात्र होइन, अझ बढाउन चाहन्छन्। ट्रम्पलाई शुल्कहरू आफैंमा उपयोगी लाग्ने अनौठो विश्वास छ। तर, धेरै रिपब्लिकनहरूले उनलाई चुनौती दिनु वा आयकर वृद्धि गर्नुको सट्टा शुल्कहरू रोज्न सक्छन्। १०% को सर्वव्यापी शुल्कले वार्षिक राजस्वमा जीडिपीको करिब १% बढाउनेछ—जसले ट्रम्पको पहिलाको कर कटौतीहरूको लागतसँग लगभग मेल खान्छ।
अहिलेका नियमहरू अनुसार, अमेरिकी कांग्रेसमा साधारण बहुमतले आगामी दश वर्षभन्दा बढी घाटा बढाउने बजेट पारित गर्न सक्दैन। यदि सर्वव्यापी शुल्क कानुनी रूपमा लागू गरियो भने, यसले स्थायी कर कटौतीलाई सम्भव बनाउन सक्छ। त्यसैले, पूरै १९औं शताब्दीको कर प्रणालीमा फर्किनु असम्भव भए पनि—विशेष गरी अहिलेको संघीय सरकार अर्थतन्त्रको निकै ठूलो हिस्सा भएका कारण—त्यस दिशामा एक महत्वपूर्ण कदम चालिने सम्भावना अत्यधिक छ।
विश्व अर्थतन्त्रमा यसको गम्भीर असर पर्नेछ। ट्रम्प सही छन् कि व्यापार युद्धमा अमेरिका बलियो स्थितिमा छ। यो एक विशाल, विविध मुक्त व्यापार क्षेत्र हो, जससँग प्रचुर प्राकृतिक स्रोतहरू छन्। आत्मनिर्भरतातर्फको कदमको ठूलो लागत ती देशहरूले व्यहोर्नु पर्नेछ, जसको अर्थव्यवस्था अमेरिकासँगको व्यापारमा निर्भर छ—विशेष गरी यसका छिमेकीहरू।
तर, १९३० को दशकमा वैश्विक व्यापारलाई तहसनहस पार्न मद्दत गर्ने स्मूट–हाउली शुल्कले अमेरिकी भन्सार दरलाई मात्र छ प्रतिशतले बढाएको थियो, त्यो पनि धेरै उच्च प्रारम्भिक स्तरबाट। ती शुल्कहरूको प्रभाव मुद्रा स्फीति र अमेरिकाविरुद्धको प्रत्युत्तरले झन् भयावह बनायो। भाग्यवश, आजको विश्व अर्थतन्त्र धेरै बलियो छ, तर प्रत्युत्तर निश्चित छ। र यदि व्यापार युद्ध विश्वव्यापी मन्दीबिना नै चर्किन सक्छ भने, मन्दी आइपुग्दा के होला?
संयम अपनाऔं
ट्रम्प वाल स्ट्रिटको धारणाप्रति संवेदनशील छन्, किनभने उनी सेयर बजारलाई राष्ट्रपतीय प्रदर्शनको सूचकका रूपमा हेर्छन्। यदि बजारले उनका आत्मघाती नीतिहरू सधैं धाकधम्की मात्र हुन् भनेर निष्कर्ष निकाल्यो भने, सेयर बजारले प्रतिक्रिया दिने छैन—जसले ट्रम्पलाई ती धम्कीहरू कार्यान्वयन गर्न प्रोत्साहित गर्नेछ। त्यसैले, अपेक्षा गर्न सकिन्छ कि उनले बारम्बार वैश्विक व्यापार प्रणालीलाई संकटको नजिक लैजानेछन्, प्रत्येक पटक जोखिम बढ्दै जाँदा कुनै बेला साँच्चै नै खाडलमा धकेल्ने सम्भावना पनि रहन्छ।
द इकोनोमिष्ट, फेब्रुवरी ७, २०२५ को अनलाइन संस्करणको भावानुवाद ।
प्रतिक्रिया दिनुहोस्