काठमाडौं ४ पुष । सामाजिक सञ्जालमा एउटा सानो कोठामा रवि लामिछाने सिरक ओढेर सुतिरहेको तस्बिर सार्वजनिक भएपछि हिरासतभित्रको तस्बिर कसरी बाहिर आयो भन्ने बहस सुरु भएको छ । गृहमन्त्री रमेश लेखकले हिरासतभित्रको फोटो सार्वजनिक गर्ने र जिम्मेवार प्रहरी अधिकारीमाथिसमेत अनुसन्धान गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिइसकेका छन् ।
आफूलाई सामाजिक अभियन्ता बताउने डा। निकोलस भुसालले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै उक्त तस्बिर आफूले खिचेको दाबी गरेका छन् । भिडियोमा उनले भनेका छन्, ‘मैले हिरासतभित्र गएर पनि खिचेको होइन, सीसीटीभी क्यामेराको फुटेज खिचेको हो । त्यो पनि पुलिसहरूकै अघि । त्यतिबेला सबै प्रहरीहरू रुममै थिए ।’
निकोलसले बिहीबार आफ्नो फेसबुकमा उक्त तस्बिर साँचो भएको र आफैंले खिचेर सामाजिक सञ्जालमा राखेको स्वीकारेका छन् । ‘मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन,’ उनले भनेका छन्, ‘भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गएको थिएँ ।’
बिहीबार नै फेसबुक लाइभमार्फत उनले उक्त तस्बिर गत शनिबार दिउँसो ४ बजे खिचिएको र मंगलबार फेसबुकमा राखेको बताएका छन् । हिरासतमा लामिछानेको स्वास्थ्य अवस्था बुझेर फर्किएपछि जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा बस्ने क्रमममा सीसीटीभी फुटेजको डिस्प्ले हुने टीभी स्क्रिनबाट उक्त तस्बिर खिचेको उनले स्वीकारेका छन् । उनले उक्त तस्बिर बाहिर ल्याउनु गल्ती भएको भन्दै सजाय भोग्न तयार रहेको बताएका छन् । ‘यो फोटो बाहिर ल्याएको प्रहरीले होइन मैले हो,’ उनले भने, ‘भाइरल गराउँछु भन्ने सोचेर होइन । कसरी बसिरहेका छन् भनेर बुझाउन फोटो खिचेको हुँ ।’
प्रतिक्रिया दिनुहोस्