काठमाडौं ११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आइतबार केन्द्रीय समितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक र विविध विषयमा छलफलका लागि रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो ।
रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार समसामयिक राजनीतिक विषय र उपसभापति एवं प्रतिनिधिसभा सदस्य स्वर्णीम वाग्लेको चीन भ्रमणको रिपोर्टिङका लागि बैठक बोलाइएको हो ।
साथै बैठकमा पार्टी गतिविधिको रिपोर्टिङ र प्रथम राष्ट्रिय भेलाको समीक्षासमेत हुने उनले बताए । स्थानीय तह उपनिर्वाचन र महाधिवेशनकेन्द्रित पार्टी गतिविधिबारे पनि केन्द्रीय समिति बैठकमा छलफल हुनेछ ।
रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । भदौ ६ गते रास्वपाको केन्द्रीय समिति बैठकले पहिलोपटक स्थानीय तहको चुनावमा भाग लिने निर्णय गरेको हो ।
रास्वपाले ०७९ को प्रदेशसभा र स्थानीय तह चुनावमा भाग लिएको थिएन, ०७९ कै प्रतिनिधिसभा निर्वाचनमा मात्र प्रतिस्पर्धा गरेको थियो । रास्वपा अहिले २१ सिटसहित प्रतिनिधिसभाको चौथो ठूलो दल हो र दुईपटक सरकारमा गइसकेको छ ।निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगका अनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यही दिन दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्