काठमाडौं ८ असोज । गृह मन्त्रालयका सहसचिव डा भीष्मकुमार भुसासलले ८० प्रतिशत सरकारी काम कर्मचारीबाट अड्किने गरेको बताएका छन्।
३० वर्षको अनुभवमा आफ्नो निजामती सेवाको अनुभवमा सरकारी काम अड्किनुमा कर्मचारी ८० प्रतिशत र राजनीतिक नेतृत्व २० प्रतिशत जिम्मेवार रहेको उनको भनाइ छ।
उनले भने, ‘हाम्रो कामको ८० प्रतिशत कर्मचारीतन्त्रबाट रोकिएको छ। २० प्रतिशत मात्रै राजनीतिक नेताको असर छ भन्ने मेरो ३० वर्षको अनुभव हो। २० प्रतिशत मात्रै राजनीतिक नेतृत्वले फरक मत राखेको कारणले अथवा अन्य कारणले रोकिएको छ। आन्तरिक सुरक्षा, अन्तर्राष्ट्रिय सुरक्षा, राष्ट्रिय सार्वभौमिकताको रक्षाको विषय रक्षा, गृह मन्त्रालयले हेर्ने हो। अरु अमुक मन्त्रालयले होइन।’
कर्मचारीको सबभन्दा ठूलो समस्या आफ्नो कामबाहेक अन्य सबैको काम गर्ने प्रवृत्ति रहेको उनको बुझाइ छ। उनले न्युज एजेन्सी नेपालको एक अन्तर्वार्तामा भनेका छन्, ‘आफ्नो जिम्मेवारी के हो भनेर खुरुखुरु फाइल अगाडि बढाइदिए त हुन्थ्यो। अरुअरु निकायको लिएर प्रश्न उठाउने, अनि त्यसलाई निकासा नदिने। हो, सबै कुरा स्वीकार गर्नु आवश्यक छैन। वैदेशिक सहयोगकै कुरा आवश्यक छैन नि। तर समयमै ‘एस’ वा ‘नो’ भन्न सक्नुपर्छ। त्यो भन्नका लागि महिनौँ लाग्दैन। दुई वर्ष लाग्दैन। कुनै कर्मचारीको टेबलमा निश्चित समयभन्दा बढी समय फाइल अड्कियो भने तत्काल उसलाई स्पष्टीकरण सोध्नुपर्छ। बद्नियत देखिए कारबाही गर्नुपर्छ।’








प्रतिक्रिया दिनुहोस्