काठमाडौं ३ असोज । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज दोस्रो दिन पनि जारी छ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा दोस्रो दिनको बैठक केही बेरअघि सुरु भएको हो।
गत साउन २७ गतेदेखि ३० गते सम्पन्न भएको केन्द्रीय समिति बैठकपछि पूर्णता पाएको यो कार्यकारिणी समितिको प्रथम बैठक हो। ३४ सदस्यीय यो बैठक भोलि शुक्रबार सम्पन्न हुनेछ।
बैठकले नेतृत्व एवं कार्यकारिणी समितिको जिम्मेवारी तोक्नाका साथै केन्द्रीय विभाग, सचिवालय र केन्द्रीय कार्यालय समिति गठन तथा प्रदेश स्तरीय अभियान परिचालन, अनुगमनर निरीक्षण गर्नेछ।
त्यस्तैगरी हाल जारी रहेको जनतासँग जसपा नेपाल अभियानको समीक्षा र यसको प्रभावकारिता, पेसागत एवं भ्रातृ संगठनहरूको परिचालन, अनुगमन, निरीक्षण र समन्वयलगायत बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ।
गत जेठमा जनकपुरमा सम्पन्न महाधिवेशनले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई कार्यकारिणी समिति र केन्द्रीय समिति मनोनयन गर्ने जिम्मेवारी दिएको थियो।
प्रतिक्रिया दिनुहोस्