काठमाडौं १ असोज । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले देशलाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताउँदै निर्वाचनमा हुने खर्च पनि राज्यले नै ब्यहोर्नुपर्ने प्रस्ताव गरेका छन्।
पूर्वसभामुख समेत रहेका सापकोटाले निर्वाचन प्रणाली अस्थिरताको कारण नभएको दाबी गरेका छन्।
‘निर्वाचन प्रणाली अस्थिरताको कारण होइन। उहाँहरू अस्थिरता यसलाई ठान्नुहुन्छ भने हाम्रो प्रश्ताव के छ भने पूर्ण समानुपातिक प्रणालीमा जाऔँ। पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएपछि खर्चको विकृति, विसंगति कम हुन्छ,’ उपाध्यक्ष सापकोटाले भने, ‘म प्रष्टसँग भन्न चाहन्छु निर्वाचन प्रणाली अस्थिरताको कारण होइन। उहाँहरू यसमा बढी खर्चिलो भयो, विकृति र विसंगतिहरू भयो भन्ने मान्नुहुन्छ भने हामी तयार छौँ पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ।’
यसरी पूर्ण समानुपातिक प्रणालीमा जाँदा दलहरूले निर्वाचनमा गर्ने खर्च राजयले व्यहोर्नुपर्ने उनले बताएका छन्।
‘अझ राज्यले सबै पार्टीहरुको निर्वाचन खर्च ब्यहोरोस्। मन्त्रिपरिषद् गठन हुँदा विज्ञ, विशेषज्ञबाट बनोस्। त्यो अर्थमा हामी संविधान संशोधन गर्न तयार छौँ,’ सापकोटाले भने।
प्रतिक्रिया दिनुहोस्