काठमाडौँ, १६ फागुन । वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले साझारुपमा विज्ञप्ति जारी गर्दै देशभर भइरहेको कार्यकर्ताको गिरफ्तारी र ज्यादतीमाथि खेद प्रकट गर्दै संयुक्तरुपमा भण्डाफोर अभियान सञ्चालन गर्ने जनाएको छ ।
मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने सहमति गर्दै चारबुँदे संयुक्त विज्ञप्ति जारी गरेको हो।
सार्वजनिक गरिएको चार बुँदे सहमतिमा केन्द्रस्तरमा जारी सहकार्यलाई निरन्तरता दिने, फागुन २१ गतेसम्म चल्ने शहीद सप्ताह संयुक्तरुपमा मनाउने, फागनु १९ गते शहीद परिवार भेटघाट र अन्तरक्रिया कार्यक्रम गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आगामी दिनमा सहकार्य गर्दै संयुक्तरुपमा कार्यक्रम अघि बढाउने उल्लेख छ।
नेकपा क्रान्तिकारी माओवादी चितवनकी जिल्ला इन्चार्ज अम्बिका मुडबरीका अनुसार केन्द्रस्तरमा जारी सहकार्यलाई जिल्लामा समेत निरन्तरता दिन यसरी कार्यगत एकता गरिएको हो।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज लालबहादुर बिसी र नेकपा क्रान्तिकारी माओवादीकी जिल्ला इन्चार्ज अम्बिका मुडबरीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा राष्ट्रियता, जनतन्त्र र जनजीविकामा गम्भीर प्रश्न उब्जिएकाले एकता गरेर अघि बढ्ने उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्