काठमाडौं १५ साउन । सत्तारुढ नेकपा एमाले सांसद गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रलाई सत्ताबाट हट्नुपर्दाको पीडा नओकल्न आग्रह गरेका छन्।
संसदमा सरकारविरुद्ध माओवादी केन्द्रका सांसदहरूको अभिव्यक्ति आउन थालेपछि उनले मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सो कुरा बताएका हुन्।
सांसद बास्कोटाले मुलुकलाई निकास दिन दुई ठूला दल कांग्रेस र एमालेले नयाँ सत्तासमीकरण बनाएको उल्लेख गर्दै त्यसको विरोध गरिरहन आवश्यक नभएको बताए।
उनले सत्तारुढ गठबन्धन मुलुकको आवश्यकताले बनाएको उल्लेख गर्दै यो कसै विरुद्ध लक्षित नरहेको दाबी समेत गरे।
सांसद बास्कोटाले साना दलहरूले सत्तामा मरिहत्ते गर्दा मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसकेको विगतबाट सबैले पाठ सिकेर अघि बढनुपर्ने बताए।
‘दुई वटा ठूला दल मिलेका छन्। ती राजनीतिक रुपमा मिल्दैनन्, सैद्धान्तिक रुपमा मिल्दैनन्। कार्यक्रमको रुपमा मिल्दैनन्। मुलुकलाई निकास दिन मिल्छन्,’ उनले भने, ‘इतिहासमा पनि मिलेका थिए, आज पनि मिल्छन्। भोली पनि मिल्छन्। यति कुरा हो–मुलुकका आवश्यकता अनुसार कसैका विरुद्ध यो होइन। आआफ्नो सामर्थ्यमा चलौं। अब यो हिजोको पीडा मात्रै बोकेर नहिँडौं।’
सांसद बास्कोटाले विकास, निर्माणको काममा ध्यान दिनुपर्ने बेलामा सत्तापक्ष र प्रतिपक्षबीच संसदमा आरोपरप्रत्यारोप हुनु शोभनीय नभएको पनि बताए।
प्रतिक्रिया दिनुहोस्