काठमाडौं १४ साउन । नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्माले विचौलिया र दलालहरूलाई सहयोग पुग्नेगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरुत्साहित गर्न खोजेको आभास पुगेको बताएकी छिन्।
प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले कार्यकारी निर्देशक घिसिङलाई कुनै शासक चिढिँदैमा अघि बढ्नबाट नरोकिन आग्रह गरेकी छिन्।
‘सरकारसँग काँधमा काँध मिलाएर कमाण्ड सम्हालेका कर्मचारी निर्देशक कुलमान घिसिङ विचौलिया र दलालहरूको दुश्मन बनेका थिए र छन्,’ उनले भनिन्, ‘आज तीनै विचौलिया र दलालहरूलाई सहयोग पुग्नेगरी कुलमानजस्तो योग्य र सफल कर्मचारीलाई निरुत्साहित गर्न खोजेको आभास हुन्छ।’
उनले अघि थपिन्, ‘सम्मानीत सदनबाट भन्न चाहन्छु– अगाडि बढ कुलमान जनताको पक्षमा काम गर्दा कुनै शासक चिढिन्छ भने केही फरक पर्दैन।’
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले सुरु गरेको अभियानले देशमा १८ घन्टे लोडसेडिङ अन्त्य भएको बताइन्।
यस्तो छ कुलमान बार शर्माले संसद्मा राखेको भनाइः
महान जनयुद्ध र जनआन्दोलनबाट शान्ति प्रक्रिया हुँदै हामी अगाडि बढ्दै गर्दा १८ घन्टे लोडसेडिङबाट देश अन्धकारमा थियो। त्यो विकराल अवस्थाबाट देशलाई मुक्त गर्न श्रद्धय अध्यक्ष कमरेड प्रचण्डको निर्देशन र तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको पहलमा नेपालको पानी, नेपालकै लगानी भनेर ऊर्जा क्रान्ति सुरु भयो। जसले आज देश विद्युत्मा आत्मनिर्भर बन्यो। तत्कालीन ऊर्जामन्त्रीले उज्यालो नेपालको अभियान सार्थक बन्यो। सो अभियानमा सरकारसँग काँधमा काँध मिलाएर कमाण्ड सम्हालेका कर्मचारी निर्देशक कुलमान घिसिङ विचौलिया र दलालहरूको दुश्मन बनेका थिए र छन्। आज तीनै विचौलिया र दलालहरूलाई सहयोग पुग्नेगरी कुलमानजस्तो योग्य र सफल कर्मचारीलाई निरुत्साहित गर्न खोजेको आभास हुन्छ। सम्मानीत सदनबाट भन्न चाहन्छु– अगाडि बढ कुलमान जनताको पक्षमा काम गर्दा कुनै शासक चिढिन्छ भने केही फरक पर्दैन।
प्रतिक्रिया दिनुहोस्