काठमाडौं १३ साउन । समाचार संकलनका क्रममा पोखरामा पत्रकारद्वय बिना थापा र सुरज थापामाथि सार्वजनिक यातायातका चालकहरुले कुटपिट गरेका छन्।
आन्दोलनरत चालकहरूले पत्रकारको स्कुटरसमेत तोडफोड गरेको नेपाल पत्रकार महासंघले जनाएको छ।
महासंघ कास्की शाखाका अनुसार पोखराको पृथ्वीचोकमा राइड सेयरिङविरुद्ध सार्वजनिक सवारीका चालक र सहचालकले थालेको आन्दोलनको समाचार संकलनका क्रममा रहेका पत्रकारद्वयमाथि आन्दोलनरत चालकहरूले दुर्व्यवहार र कुटपिट गर्नुका साथै पत्रकारको ग २० प ३९७३ नम्बरको स्कुटरसमेत तोडफोड गरेका छन्।
महासंघले आइतबार विज्ञप्ति प्रकाशित गरी सो घटनाको निन्दा गरेको छ।
महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिकलाई सुसूचित गराउन तथा आन्दोलनरत पक्षको मागसमेतलाई सम्बन्धित निकायमा पु¥याउन भूमिका खेल्ने पत्रकारमाथि भएको कुटपिट र तोडफोडको यो घटना अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको प्रहार हो।’
महासंघले प्रेस स्वतन्त्रतामाथि प्रहार गर्नेको तत्काल पहिचान गरी कानुनी दायरमा ल्याउन र क्षतिको क्षतिपूर्ति दिलाई पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासनसँग माग गरेको छ।
प्रतिक्रिया दिनुहोस्