काठमाडौं ३० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिनाअवरोध प्रस्तुत हुने दाबी गरेका छन् । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद् प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।
तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री दाहालले आइतबार बिहान कांग्रेस नेतृत्वसँग गम्भिरतापूर्वक छलफल गरेको र भोलि बेलुकासम्म सरकारको नीति तथा कार्यक्रम सहज ढंगले अघि बढ्ने वातावरण बन्ने विश्वास व्यक्त गरे । उनले कांग्रेससँग सहमतिको ढोका खोल्नका लागि आफूले गम्भिरतापूर्वक छलफल गरेको पनि स्पष्ट पारे ।
आइतबार दिउँसो राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री दाहालले कांग्रेससँग सोमबार ९भोलि० बेलुकासम्म छलफलबाट निष्कर्ष निकाल्ने बताए । उनले भने, ‘मैले त्यही ढोका खोल्नकै लागि गम्भिरतापूर्वक नै आज प्रतिपक्षसँग छलफल भएको छ । अन्तिम निष्कर्षमा नपुगे पनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति, कार्यक्रम सहज ढंगले अगाडि बढ्ने वातावरण बन्छ ।’
प्रधानमन्त्री दाहालसँगको भेटपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि उपप्रधानमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन प्रधानमन्त्री दाहाल सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।








प्रतिक्रिया दिनुहोस्