काठमाडौं २८ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताउनुभएको छ ।
शुक्रबार पशुपति क्षेत्र विकास कोषको ३८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै मन्त्री तामाङले कोषलाई राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रुपमा हेर्न नहुने बताउनुभएको हो । उहाँले विगतमा पशुपति विकास कोष गैरराजनीतिक आध्यात्मिक थलो भएको बताउनुभयो । पछिल्लो समय कोष राजनीति गर्ने थलोको रुपमा प्रयोग भए पनि अब त्यस्तो हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री तामाङले गैरराजनीतिक ठाउँमा आएर राजनीति गर्नाले नेपालको विकास हुन नसकेको दाबी गर्नुभयो । उहाँले पशुपति क्षेत्र विकास कोष गैरराजनीतिक आध्यात्मिक पवित्र थलो भएकाले आफूले धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले पशुपति क्षेत्र विकास कोषमा राजनीतिक गर्न नहुने विषयमा आफू सचेत रहेको बताउनुभयो । पशुपति क्षेत्र, विश्व सम्पदा सूचिमा सूचिकृत,पूर्वीय दर्शन र पूर्वीय संस्कृतीको महत्त्वपूर्ण केन्द्र विश्वमा नेपाललाई चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ छ । मन्त्री तामाङले पशुपति क्षेत्रलाई व्यवस्थित प्रवर्द्धन गर्नसके धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्ने बताउनुभयो ।
‘‘नेपालको विकास समृद्धि राजनीतिक नेतृत्व गैर राजनीतिक ठाउँमा आएर राजनीतिक गर्नाले हुन सकेन । पशुपति क्षेत्र गैरराजनीतिक आध्यात्मिक पवित्र थलो हो । धार्मिक स्थल हो । धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्ने हो । तर पशुपति क्षेत्र विकास कोषमा राजनीतिक बढी गर्नथाल्यौँ भने हाम्रो देश नबिग्रे अरु कुन देश र मानिसहरु बिग्रछन् ।,’’ मन्त्री तामाङले भन्नुभयो, ‘‘त्यसबाट बच्नुपर्छ भन्ने कुरामा आफू सचेत छु । पशुपति क्षेत्र, विश्व सम्पदा सूचिमा सूचिकृत, पूर्वीय दर्शन र पूर्वीय संस्कृतीको महत्त्वपूर्ण केन्द्र विश्वमा नेपाललाई चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’’
उहाँले करोडौं जनसङ्ख्या भएको हिन्दुधर्मप्रति आस्था राख्ने भारतका हिन्दु धर्मालम्वीहरुलाई सहज रुपमा भित्र्याउन पशुपति क्षेत्रमा धार्मिक पर्यटकका लागि रमणीय भौतिक र आध्यात्मिक परिवेश बनाउन आवश्यक रहेको बताउनुभयो । रमणीय र आध्यात्मिक परिवेश बनाउनसके मुलुकको विकासका लागि आर्थिक उन्नति र प्रगतिमा पशुपति क्षेत्रले अभूर्तपूर्ण योगदान पु¥याउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘पशुपति क्षेत्रलाई व्यवस्थित प्रवर्द्धन गर्नसक्यौं भने धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्छ । यसमा पनि करोडौं जनसङ्ख्या भएको हिन्दुधर्म प्रति आस्था राख्ने भारतका भक्तजनहरुलाई सहज रुपमा भित्र्याउने र धार्मिक पर्यटकलाई रमणिय खालको भौतिक र आध्यात्मिक परिवेश बनाउन सक्यौं भने मुलुकको विकासको लागि आर्थिक उन्नति र प्रगतिमा पशुपति क्षेत्रले अभूर्तपूर्ण योगदान पुर्याउन सक्ने केन्द्रको रुपमा बदल्न सक्छौं ।’’
प्रतिक्रिया दिनुहोस्