काठमाडौं २८ बैशाख । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा मुस्लिम महिलाको पहुँच बढाउँदै लैजानु पर्ने आवश्यकता औंल्याउनु भएको छ । त्यसका लागि समुदायमा शिक्षा र जनचेतना आवश्यक रहेकोले सोतर्फ विशेष ध्यान दिन उहाँले अनुरोध गर्नुभयो ।
मुस्लिम आयोगद्वारा नेपालगन्जमा आयोजना गरिएको मुस्लिम महिलाहरूको सशक्तिकरण विषयक कार्यक्रममा बोल्दै अध्यक्ष मियाँले आयोग गठनपछि मुस्लिम समुदायको हक हितको संरक्षण संवर्द्धन तथा सशक्तीकरणको क्षेत्रमा धेरै काम गरेको बताउनुभयो । उहाँले मुस्लिम महिलाहरूलाई समाजमा अझैपनि समान रुपमा अगाडी जाने अवसर सहज रुपमा प्राप्त नभइरहेको जनाउँदै महिलालाई इस्लामले उच्च स्थान दिएको हुँदा महिलाहरूलाई अवसरबाट वञ्चित गर्न नहुने धारण राख्नुभयो ।
संविधानले सामाजिक र आर्थिक क्षेत्रमा समानता, समृद्धि र समाजवादको परिकल्पना गरेको र त्यस दिशातर्फ मुलुकलाई लैजान गतिशिल र अनुशासित नेतृत्वको आवश्यकता रहेको आयोगका अध्यक्ष अन्सारीको भनाइ छ । महिला सशक्तीकरणका लागि अन्तर्राष्ट्रियदेखि राष्ट्रिय स्तरसम्म धेरै प्रयास भएको उल्लेख गर्दै उहाँले समाज अझैपनि पुरुष प्रधान नै रहँदा महिलाले बराबरीको अधिकार पाउन नसकेको जिकिर गर्नुभयो ।
घरको चुलोचौकामा मात्रै महिलालाई सीमित राख्न खोज्दा महिलाहरुले अधिकारबाट बञ्चित हुनुपरेको धारण अध्यक्ष अन्सारीको थियो । उहाँले थप्नुभयो, ूबच्चा जन्माउने, हुर्काउने, चुलोचौका, मेलापात, भारी बोक्ने, खेतबारीमा काम गर्ने र माछा मार्ने कार्यमा मात्रै महिलालाई सीमित गर्न खोजिएको छ, महिलालाई घरको चार दिवारीमा राख्ने कार्यले बराबरीको हक कायम हुँदैन ।ू
राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीले कार्यक्रमको सहजीकरण गर्दै विशेष गरि मुस्लिम महिलालाई राजनीति, सामाजिक र आर्थिक क्षेत्रमा संलग्न गराउनु आवश्यक रहेको बताउनुभयो । उहाँले महिला पनि पुरुषभन्दा कम छैनन् भन्ने कुरा देखाउनका लागि महिलाले पनि अधिकारका लागि अघि सर्नुपर्ने जिकिर गर्नुभयो । हिजो दाउरामा खाना पकाउने महिलाहरू ग्यास हुँदै इन्डक्सनमा पकाउन थालेको बताउँदै उहाँले यसले लैङ्गिक भूमिका, शक्ति सम्बन्धमा खासै परिवर्तन ल्याउन नसकेको र यसले जागिरे वा कामकाजी महिलामा अझ कार्यबोझ थपिएको मानवअधिकार आयोगका पुर्व सदस्य अन्सारीको भनाइ छ ।
ठुलो संख्यामा बाँकेका अगुवा मुस्लिम महिलाहरुको सहभागिता रहेको सो कार्यक्रममा मुस्लिम आयोगका सदस्यहरु शम्सुल हक, महमदिन अली, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझी, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राई लगायतको पनि सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि मुस्लिम महिलाहरुले सो अवसरमा मुस्लिम आयोग समक्ष मुस्लिम समुदायको हक अधिकारसंग सम्बन्धित विभिन्न जिज्ञासाहरु पनि राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्