काठमाडौं, १० फागुन । केपी ओली नेतृत्वको सरकारमा प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय रहने भएका छन् भने माओवादीकेन्द्रले कुन– कुन मन्त्रालय लिने भन्ने अझै टुंगिएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार मन्त्रालयको संख्याबारे छलफल भएको थियो । दुई नेताले आफूहरुको छलफल नटुंगिएको र आज थप कुराकानी गर्ने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । हिजो भएको छलफलमा प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय राख्न दुई नेतावीच सहमति भएको स्रोतले जानकारी दिएको छ ।
हाल ३० मन्त्रालय छन् । तर, संविधानमा नै केन्द्र सरकार बढीमा २५ सदस्यीय हुने भन्ने उल्लेख भएकाले मन्त्रालयको संख्या घटाउने पक्षमा ओली सरकार रहेको छ ।
संघीय प्रशासनिक पुनःसंरचना समितिले १८ मन्त्रालय बनाउन सिफारिस गरेको थियो भने काशिराज दाहाल नेतृत्वको समितिले १५ मन्त्रालय राख्न सिफारिस गरेको थियो । दाहालको सिफारिस अनुसार अघिल्लो सरकारले १५ मन्त्रालय रहने प्रस्ताव मन्त्रिपरिषदमा लगिसकेको छ ।
माओवादी कन्द्रले माग्यो गृहसहित ७ मन्त्रालय
माओवादी केन्द्रले ओली सरकारमा उपप्रधानमन्त्री र गृहसहित कम्तिमा ७ मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको छ ।
गृह र भौतिक पूर्वाधार मन्त्रालय आफूले लिने माओवादीको योजना छ । पर्यटन मन्त्रालयमा पनि माओवादीको दाबी छ ।
अर्थमन्त्रालय आफूले राखेपछि माओवादीलाई गृह दिन एमाले सकारात्मक रहेको नेताहरुले बताएका छन् तर, अरु मन्त्रालयको कुरा मिल्न सकेको छैन ।
एमालेले संघीय फोरमलाई पनि सरकारमा सहभागी गराउन मनसाय भएकोले मन्त्रालय भागवण्डा लम्बिएको नेताहरु बताउँछन् ।
संघीय प्रशासनिक पुनःसंरचना समितिले सिफारिस गरेका १८ मन्त्रालयको सूची
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
गृह
परराष्ट्र
अर्थ तथा योजना
रक्षा
भौतिक पूर्वाधार, यातायात तथा नागरिक उड्डयन
संघीय मामिला तथा सामान्य प्रशासन
सूचना तथा सञ्चार
कानुन, न्याय तथा संसदीय मामिला
उद्योग, वाणिज्य तथा आपूर्ति
पर्ययन तथा संस्कृति
कृषि, सहकारी तथा भूमि व्यवस्थापन
जलस्रोत तथा ऊर्जा
शिक्षा तथा खेलकुद
महिला, समावेशीकरण तथा सामाजिक न्याय
स्वास्थ्य
मानव संशाधन, युवा, श्रम तथा रोजगार
वन तथा वातावरण
प्रतिक्रिया दिनुहोस्