काठमाडौं ४ बैशाख । ठूलीभेरी नगरपालिका वडा नं ३, दुनै, डोल्पामा कभर्ड हल निर्माणमा झण्डै १० लाख भ्रष्टाचार भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धानले देखाएको छ।
कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७६र७७ मा सामाजिक विकास कार्यालय, डोल्पाबाट विनियोजित रकमबाट कभर्ड हल तथा खेलमैदान उपभोक्ता समितिमार्फत निर्माण गरिएको थियो।
खेलकुद मैदान निर्माणको कार्य, लागत अनुमान र सम्झौतामा उल्लिखित कामभन्दा फिल्डमा कम काम गरी बढी काम गरेको देखाएर भ्रष्टाचार गरिएको अख्तियारले जनाएको छ।
यस क्रममा गलत नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र बिल भरपाई तयार पारी फिल्डमा भएको कामभन्दा बढी ९ लाख ९३ हजार ९ सय रूपैयाँ बराबरको झुटा बिल भरपाई बनाएको पाइएको छ।
यस प्रकरणमा संलग्नताको आरोपमा अख्तियारले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्य, सबइन्जिनियर मोतीप्रसाद बुढा, उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
प्रतिक्रिया दिनुहोस्