काठमाडौं, ८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जनालाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको छ । बिहान बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिस अनुसार युवराज खतिवडा, रामनारायण बिडारी र बिना पौडेल राईलाई राष्ट्रपति भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नुभएको हो ।
मंगलबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले अघिल्लो सरकारले राष्ट्रियसभामा सिफारिस गरेका ३ जनाको नाम फिर्ता लिँदै उनीहरुको ठाउँमा नयाँ ३ जनाको नाम सिफारिस गरेको थियो ।
यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभामा सिफारिस गरेको थियो । उहाँहरु तीनै जना कांग्रेस निकट हुनुहुन्थ्यो । तर त्यो सिफारिसलाई राष्ट्रपति कार्यालयले कार्यान्वयन नगरी त्यत्तिकै थन्क्याएर राखेको थियो ।
प्रतिक्रिया दिनुहोस्