काठमाडौं १५ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेसनमा लगानी बढाउन लगानी कर्ताहरुलाई आह्वान गरेका छन्।
बिहीवार काठमाडौंमा याडिया जि—६ विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन्। उनले सरकारले सबैभन्दा पहिला प्रोत्साहनका लागि देशभरका विभिन्न स्थानमा गरी ५१ वटा चार्जिङ स्टेसन राखेको भएपनि अहिलेसम्म आइसक्दा विद्युत प्राधिकरण र निजी क्षेत्र मिलेर देशभरका विभिन्न स्थानहरुमा करिव ४ सय वटा फास्ट चार्जिङ स्टेसन राखिएको बताए।
घिसिङले भने, ‘वास्तवमा त्यो बेला कतै पनि चार्जिङ स्टेसन थिएन। हामीले प्रमोसनका लागि ५१ वटा फास्ट चार्जिङ स्टेसन, विद्युत प्राधिकरणले राखेको थियो। त्यसलाई थपेर देशभर विभिन्न ठाउँमा ६२ वटा बनायौँ। अहिले निजी क्षेत्र र विद्युत प्राधिकरण गरी करिव ४ सय वटा फास्ट चार्जिङ स्टेसन देशभर रहेका छन्।’
उनले एकै ठाउँमा चार्जिङ स्टेसनहरु बढी भएकाले यस सम्बन्धी नीति बनाइदिन लगानी कर्ताहरुले आग्रह गरिरहेको बताए। धुलिखेलदेखि सिन्धुली बर्दीवाससम्म धेरै संख्यामा चार्जिङ स्टेसन बनेको बताए।
उनले चार्जिङ स्टेसनमा गरिएको लगानी पट्रोल पम्पमा गरिने लगानी भन्दा ठूलो हुने बताए। उनले प्राधिकरणले चार्जिङ स्टेसनबाट नाफा कमाउन नभइ प्रोत्साहनका लागि लगानी गरिरहेको बताए। उनले प्राधिकरणको प्रतियुनिट मूल्य ९ रुपैयाँ पर्ने भएपनि राति चार्ज गर्दा ५ रुपैयाँ ७५ पैसामै दिने गरेको बताए।
प्रतिक्रिया दिनुहोस्