अर्घाखाँची, १३ फागुन । अर्घाखाँचीमा आजदेखि दादुरा रुबेला रोग विरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाका ६ वटै स्थानीयमा आजदेखि दादुरा रुबेला खोप लगाइदै छ । दादुरा–रुबेला खोप अभियानको सन्धिखर्क नगरपालिका वडा नं. १ मा रहेको बालमन्दिर खोप केन्द्रबाट बालबालिकालाई खोप लगाई सुभारम्भ गरिएको छ । जिल्लामा ३३१ खोपकेन्द्रबाट ९ महिनादेखि ५ वर्ष मुनिका १२ हजार ८ सय १० जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीले जानकारी दिए ।
उनले अनुसार यो अभियानमा छुट भएका नियमित खोप पनि लगाइने भएकाले खोप कार्ड लिएर खोप केन्द्रमा जान आग्रह गरेका छन् । ‘दादुरा रुबेला खोप अभियान अर्घाखाँचीमा आजदेखि फागुन १७ गतेसम्म चल्दै छ,’ उनले भने ‘यस अभियान छुट भएका नियमित खोप पनि लगाइने भएकाले खोप कार्ड लिएर जानुहोला, नियमित खोप लगाएकाले पनि यो खोप लगाउनुपर्छ ।’ यस्तै सुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले यस अभियानमा खोप लगाउनबाट कोही पनि छुट्न नहुने बताएका छन् ।
कोइरालाले दादुरा रुबेला रोग सरुवा रोग र छिट्टै एक जनाबाट धेरै जनामा सरी महामारिको रुप समेत लिन सक्ने भएकाले खोप अनिवार्य लगाउन आग्रह गरेका छन् । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, जिल्ला समन्वय अधिकारी, तिनवटै सुरक्षा निकायका प्रमुखहरु, विभिन्न कार्यालयका प्रमुखहरु, स्वास्थ्यकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाको अध्यक्षता र स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्