ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीलाई मित्र राष्ट्रहरुको बधाई र शुभकामना (भ्रमणकोलागि भारत र चीनविच प्रतिस्प्रर्धा )


एबीसी न्यूज

काठमाडौँ, ६ फागुन ।  नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएका केपी शर्मा ओलीप्रति छिमेकी र अन्य मित्र राष्ट्रहरुले यतिखेर बधाईको ओइरो लाएका छन् । छिमेकी देशले त उहाँसँग मिलेर कामगर्न आफूहरु उत्साही भएको बताएका छन् ।

बिहीबार प्रधानमन्त्रीमा नियुक्त उहाँलाई कतिपय विदेशी सञ्चारमाध्यमले नेपालका आठौँ कम्युनिष्ट प्रधानमन्त्री तथा बामपन्थी गठबन्धनबाट बहुमत प्राप्तगरी नेपालको कम्युनिष्ट सरकारको नेतृत्वमा पुग्नुभएको भनी टिप्पणी पनि गरेका छन् ।

यी औपचारिक बधाई र शुभकामनाका अतिरिक्त नेपाल र भारतबीच यसपटक नयाँ कूटनीतिक प्रयोग नै भएको केहीको टिप्पणी छ । नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बन्नुभन्दा महिना दिनअघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई फोन गरेर भावी प्रधानमन्त्रीका रुपमा बधाई दिनुभयो ।

उहाँले प्रधानमन्त्रीको हैसियतमा भारतमा स्वागत गर्न आफू आतुर रहेको भन्दै भ्रमणको निम्तो पनि त्यतिबेलै दिनुभएको थियो । उहाँले फोन दुई पटक नै गर्नुभयो प्रधानमन्त्री नबन्दै । पछिल्लो सम्पर्कमा पनि उहाँको आसय भारत भ्रमणका लागि आमन्त्रण गर्नु नै थियो ।

प्रधानमन्त्री नियुक्त भएपछि पनि मोदीले पुुनः फोन गरेर बधाई दिनुभयो र भारत भ्रमणका लागि निम्तो दिनुभयो । बिहीबार राति १० बजे टेलिफोन गरी उहाँले भारत सरकार नेपालका प्रधानमन्त्री ओलीसँग मिलेर कामगर्न इच्छुक रहेको भन्दै उहाँले आगामी दिनमा नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले ओली नेतृत्वको नेपालको सरकारसँग मिलेर कामगर्ने र नेपालमा आर्थिक विकास र समृद्धिका लागि सहयोग गर्ने बताउनुभयो ।

प्रधानमन्त्री मोदीले नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीमार्फत शुभकामना पत्र पनि पठाउनुभएको थियो । सो पत्र राजदूत पुरीले बिहीबारै राति ओली निवास पुगेर हस्तान्तरण गर्नुभएको थियो । उक्त पत्रमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतको सद्भाव र पारस्परिक विश्वासमा आधारित युगौँ पुरानो सम्बन्धको थप विकासमा आफूले उच्च महत्व दिने र नेपाली जनता र नेपाल सरकारको साथमा रहेर विकासका लागि सहयोग गर्न तयार रहेको धारणा राख्नुभएको छ ।

केही दिनमात्र अघि पनि भारतीय प्रधानमन्त्री मोदीले आफ्ना विशेषदूत भारतका विदेशमन्त्री सुषमा स्वराजलाई नेपाल पठाउनुभएको थियो । दुई देशको सम्बन्ध सुधारकै लागि भारतीय विदेशमन्त्री स्वराज नेपाल आएको बताइएको थियो । विशेषदूत पठाएर हिजो बिग्रिएको सम्बन्ध सुधारगर्ने प्रयास भारत सरकारले गरेको छ । प्रधानमन्त्री ओलीको अघिल्लो सरकारका समयमा भारतले नेपालमा नाकाबन्दी नै लगायो । जसका कारण नेपालले खाद्यान्न र इन्धनजस्ता न्युनतम आधारभूत आवश्यकताकै जोहो गर्नुपर्ने अवस्था आइलागेको थियो । त्यो विग्रिएको सम्बन्धलाई थप सहजीकरण गर्नका लागि यी पछिल्ला प्रयत्नहरु भइरहेका विश्लेषकहरु बताउँछन् ।

चिनियाँ प्रधानमन्त्री लि खछ्याङले पनि प्रधानमन्त्री ओलीलाई शुभकामना सन्देश पठाउनुभएको छ । प्रधानमन्त्री खछ्याङले ओलीको कार्यकालमा चीन नेपाल सम्बन्धलाई अझै सुदृढ तुल्याउनुका साथै द्धिपक्षीय सहयोग र पारस्परिक लाभका क्षेत्रहरुमा मिलेर कामगर्ने बताउनुएको छ । चीन सरकारको एक महत्वाकांक्षी आयोजना एक क्षेत्र एक मार्गअन्तर्गत विभिन्न पारस्पारिक लाभका क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्री खछ्याङले व्यक्त गर्नुभएको उहाँले पठाउनुभएको सन्देशमा छ । प्रधानमन्त्री खछ्याङले प्रधानमन्त्री ओलीलाई चीनमा स्वागतका लागि आतुर रहेको सन्देश नेपालका लागि चिनियाँ राजदूत यु होङ्मार्फत पठाउनुभएको छ । यसरी प्रधानमन्त्री ओलीलाई नेपालका दुई छिमेकी भारत र चीनले औपचारिक भ्रमणका लागि आमन्त्रण गरिसकेका छन् ।

चीन सरकारले स्वागत गरेसँगै चिनियाँ विभिन्न संघसंस्था एवम् व्यक्तिले पनि उहाँलाई स्वागत र बधाई ज्ञापन गरेका छन् । चिनियाँ सञ्चारमाध्यमहरुले नेपालमा बामपन्थी गठबन्धनको रुपमा निर्माण भएको कम्युनिष्ट सरकार भनेर प्रचार गरेका छन् । चीनको एक अर्धसरकारी ‘थिंकट्यांक’ संस्था सान्सी इन्स्टिच्युट अफ इनोभेटिभ ट्यालेन्ट डेभलपमेन्ट सेन्टरले नेपालमा ओली प्रधानमन्त्री भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेको छ । उक्त इन्स्टिच्युटको द सेन्टर अफ साउथ एसियन ट्यालेन्ट डेभलपमेन्टका निर्देशक प्रा.डा.राजिवकुमार झाले ओली प्रधानमन्त्री भएलगत्तै बिहीबारै एक विज्ञप्ति प्रकाशन गरी ओली नेतृत्वको सरकारका समयमा द्धिपक्षीय हितका धेरै कुराहरु अघि बढ्ने र विगतमा उहाँले चीनसँग गरेका सन्धी सम्झौताहरुले पनि पूर्णता पाउने अपेक्षा चिनियाँ बुद्धिजीवी बर्गले गरेको बताउनुभएको छ ।

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापनगर्दै बंगलादेश भ्रमणको निम्तो दिनुभएको छ । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री हसिनाले उहाँलाई सन्देश पठाउदै सफल कार्यकालको शुभकामना दिनुभएको हो । त्यसैगरी अमेरिकाले पनि प्रधानमन्त्री ओलीसँग मिलेर कामगर्ने इच्छा प्रकट गरेको छ । नेपालका लागि अमेरिकी राजदूत अलैना बि टेपलिजले बिहीबार ओली प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै गर्नुभएको ट्वीट्मार्फत बधाई र शुभकामना दिनुभएको थियो । उहाँले अमेरिका ओली नेतृत्वको नेपालको नयाँ सरकारसँग सहकार्य गर्न चाहेको सन्देश ट्वीटमार्फत दिनुभएको छ । उहाँले नेपालको प्रजातन्त्रको विकास, समृद्धि र स्थायित्वका लागि अमेरिका सदा साथमा रहेको पनि बताउनुभएको छ । त्यसैगरी पाकिस्तानले पनि प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

नेपालको भूराजनीतिक अवस्थितिलाई नियाल्दा छिमेक सम्बन्ध अति महत्वपूर्ण र संवेदनशिल छ । यसको सन्तुलित सञ्चालनबाट मात्र नेपाल र नेपालीलाई फाइदा छ । दक्षिणी छिमेकीसँग हाम्रो आँगन नै जोडिएकोले हामी सदियौँदेखि विभिन्न हिसाबमा नजिक छौँ । उसको उपेक्षाबाट एक हिसाबले भन्ने हो भने हाम्रो दैनिकी चल्न नै गाह्रो छ । उत्तरको छिमेकी चीन त झन विश्वको पहिलो अर्थतन्त्रको दौडमा छ । यति समृद्ध छिमेकी पाउनु हाम्रालागि पनि गर्वको कुरा हो । त्यसैले उसँगको ठोस सहकार्यबिना पनि हामीले सोचेको समृद्धिको प्राप्ति सम्भव नहुन सक्छ ।

त्यसैले यति प्रभावशाली र समृद्ध छिमेकीसँगको सम्बन्धको सन्तुलन पहिलो र प्राथमिक कार्य हो यो सरकारको । उनीहरुको समृद्धिबाट लाभ लिनसक्ने क्षमता नै हाम्रो कूटनीतिक सक्षमता र सफलता हुनसक्छ । त्यसतर्फ ओली सरकारको कूटनीति उन्मुख होस् । अहिलेकोजस्तो बधाई र शुभकामनाको औपचारिकतामा मात्र आगामी दिनटहरु सीमित नहोउन् । सन्तुलित र संयमित सम्बन्धका माध्यमबाट अर्थतन्त्रको विकासगरी देशलाई आर्थिक र धेरै हिसाबले आत्मनिर्भर बनाउनु यो सरकारको प्राथमिकता हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com