काठमाडौं १० फागुन । नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रले गुटको बन्धक बनाएको बताएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा आफ्ना भनाइ राख्ने क्रममा उनले माओवादीभित्रको गुटको लडाइँको बन्धक त्रिवि उपकुलपतिलाई बनाइएकोमा आपत्ति जनाए। कात्तिक १७ देखि त्रिवि कार्यवाहक उपकुलपतिको भरमा चलेको अवस्थामा छिटो नियुक्ति टुंगो लगाउन पनि उनले माग गरे।
‘प्रधानमन्त्रीले स्वच्छ र स्वतन्त्र ढंगले उपकुलपति नियुक्ति गर्ने भनेर प्रक्रिया अघि बढाउनुभयो। विडम्बना प्रक्रिया कुनै स्वच्छ र स्वतन्त्र पारदर्शी ढंगबाट भएन,’ भट्टराईले भने,‘अनुसन्धानमा असाध्य कम नम्बर राखेर अन्तर्वार्ता र प्रस्तुतिमा बढी नम्बर दिइएको छ।’
उनले उपकुलपति नियुक्तिका लागि विज्ञबाट नभएर शिक्षामन्त्री, शिक्षा सचिव र उपप्राध्यापकहरूले अन्तर्वार्ता लिएकोमा पनि आपत्ति प्रकट गरेका छन्।
‘प्राध्यापकहरुमध्येबाट उपकुलपछि बनाउने प्रक्रियाको अन्तर्वार्ता उपप्राध्यापकले लिएका छन्,’ उनले भने, ‘यस्तोमा पार्टीभित्रको गुटको लडाइँमा विश्वविद्यालयलाई बन्धक बनाइएको छ। म यस कुराको निन्दा गर्छु। अहिलेको प्रक्रिया खारेज गरेर स्वतन्त्र र निष्पक्षरुपमा उपकुलपति छनोट गरियोस्।’
प्रतिक्रिया दिनुहोस्