काठमाडौँ १० फागुन । नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका चार वटै प्रस्तावहरु सर्वसम्मत पारित भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन महासमिति बैठकले सर्वसम्मत पारित गरेको हो ।
चार वटै प्रस्तावहरुमाथि समूहगत छलफलपछि प्रदेश सभापतिहरुले सुझावसहित धारणा राखेका थिए । त्यसपछि आवश्यक संशोधनसहित ती प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गरिएको थियो । बैठकले चारवटै प्रस्तावहरु सर्वसम्मत रुपले पारित गरेको सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
प्रस्तावहरुमाथि सुझावहरु आएका छन् । ती सुझावहरुलाई पछि केन्द्रीय समितिले समावेश गरेर दस्तावेजहरुलाई अन्तिम रुप दिनेछ,ु उनले भने, ुअहिले चारवटै प्रस्तावहरु सर्वसम्मतले पास गरिएको छ ।
बैठकमा महामन्त्री थापाले २०८४ को निर्वाचनमा गठबन्धन नगर्ने भन्ने प्रस्ताव पेस गरेका थिए । तर महासमिति बैठकले अहिले त्यसबारे कुनै निर्णय गरेन । तर वर्तमान गठबन्धनलाई निरन्तरता दिएर जाने भन्नेमा दुई मत नरहेको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।
बैठकमा महामन्त्री थापाले चारवटै प्रस्ताव पारित गर्न प्रस्ताव गरेकोमा महासमिति सदस्यहरुले ताली बजाएर अनुमोदन गरेका थिए ।
गठबन्धन सरकारलाई सहयोग गर्नु कांग्रेसको दायित्वः देउवा
सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारलाई सहयोग र प्रोत्साहन गर्नु सत्ताघटकको हिसाबले कांग्रेसको दायित्व भएको बताएका छन् । उनले कांग्रेस गठबन्धन सरकारको प्रमुख घटक रहेको भन्दै त्यो निरन्तर रहने बताए ।
पार्टीको महासमिति बैठकको समापन गर्दै सभापति देउवाले महासमिति बैठकबाट पार्टीलाई थप अनुशासित, ऊर्जावान र एकताबद्ध बनाएर अघि बढाउने विषयमा प्रेरणा प्राप्त भएको बताए ।
‘कांग्रेस वर्तमान गठबन्धन सरकारको प्रमुख घटक हो । त्यसकारण पनि मुलुकमा सुशासन, विकास र समृद्धि ल्याउन यो सरकारलाई निरन्तर सहयोग र प्रोत्साहन गर्नु कांग्रेसको दायित्व हुन्छ,’ देउवाले भने ।
उनले पार्टीले गौरवशाली इतिहासलाई आधार बनाएर समयसापेक्ष, दुरदर्शी र जिम्मेवारीपूर्ण ढंगले व्यवहार अपनाएकै कारण साढे सात दशक लामो यात्रा तय गरिसकेको भन्दै अबका लागि थप संवेदनशील भएर अघि बढ्नुपर्ने बताए ।
उनले महासमिति बैठकबाट पारित भएका प्रस्तावहरुलाई केन्द्रीय कार्यसमितिले संशोधनसहित पारित गर्ने जानकारी गराए । ‘विभिन्न प्रस्तावहरूमाथि साथीहरूले महत्वपूर्ण सुझावहरू दिनुभएको छ । ती सुझावहरू समेतलाई मध्यनजर गर्दै हामी केन्द्रीय कार्यसमितिबाट निर्णय लिनेछौँ,’ उनले भने ।
काम गर्न नसक्ने र दाग लागेका मन्त्रीलाई घर पठाऔंः महामन्त्री थापा
महामन्त्री गगन थापाले काम गर्न नसक्ने र दाग लागेका मन्त्रीलाई पार्टीले कारबाही गर्नुपर्ने बताएका छन् । महासमितिको बिहीबारको बैठकमा महामन्त्री थापाले काम गर्न नसक्नेलाई विश्राम दिनुपर्ने र दाग लागेको मन्त्रीलाई घर पठाउनुपर्ने बताएका छन् ।
महासमितिको समापन समारोहलाई सम्बोधन गर्दै थापाले भ्रष्टाचारमा मुछिएकालाई वरिपरि राख्न नहुने पनि बताएका छन् ।
काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऊँ, दाग लागेको मन्त्रीलाई घर पठाऊँ अनि कांग्रेसले काम गरेर देखाउँ,ु उनले भने, ुप्रत्येक वडाको सदस्यले काम गर्न सक्दैन भने अर्कोपटक टिकट होइन १० वर्ष घर बसाउँछु भनेर कांग्रेसले भन्न सक्नुपर्छ । भ्रष्टाचारमा मुछिएको एउटा मान्छेलाई कांग्रेसले वरिपरि राख्दैन भनेर भन्न सक्नुपर्छ ।
महामन्त्री थापाले ती सबै काम गरेपछि सरकारको कामको तागतमा पार्टीको शक्ति बढ्दै जाने उनको भनाइ थियो ।
उनले संविधान बनाएको कांग्रेसले नै संविधानको कार्यान्वयनमा पनि आफ्नो भूमिका देखाउनुपर्ने बताए । ‘महासमिति बैठक ऐतिहासिकरुपमा सम्पन्न भएको छ । यो बैठकबाट हामीबीचको तितोमिठो मेटिएको छ । हामीबीचको असमझदारी मेटिएको छ,’ उनले भने, ;अब हामी एकताबद्ध भएर अघि बढ्नेछौँ । कांग्रेस हार्दैन, आगामी निर्वाचनमा कांग्रेसले सम्पूर्णरुपमा बहुमत प्राप्त गर्ने गरी अहिलेदेखि नै पार्टी परिचालित हुनेछ ।’
उनले महासमिति सदस्यहरुले विचार र तथ्य दुवै हिसाबले महत्वपूर्ण धारणाहरु राखेको भन्दै नेतृत्वले त्यसलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताए ।
कांग्रेसको महासमिति बैठकमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धतासहितको दस्तावेज पेस भएको छ । उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको दस्तावेजमा हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट छ ।
‘सुशासन र भ्रष्टाचार नियन्त्रण आम नागरिकको चासो र सरोकारको विषय हो । नेपाली समाजमा असमानता बढाउने प्रमुख कारक भनेको कुशासन र भ्रष्टाचार हो । समुन्नति, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण एकअर्काका पूरक हुन् । यो नै लोकतन्त्र र समृद्धिको आधार पनि हो । लोकतन्त्र आत्मअनुशासनसँग जोडिन्छ र आत्मअनुशासन निष्ठा, नैतिकता र आत्मबोधसँग जोडिन्छ । यी आदर्श राज्य संयन्त्रसँग जोडिनका लागि कठोर नीति र असल नियत आवश्यक हुन्छ । नेपाली कांग्रेस भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट गर्दछु कांग्रेसको दस्तावेजमा छ ।
महामन्त्री विश्वप्रकाश शर्माद्वारा महासमितिको बैठकमा प्रस्तुत समसामयिक राजनैतिक प्रस्ताव
वर्तमान सरकारले सुशासनका सम्बन्धमा केही सकारात्मक कदम चालेको खड्काले दाबी गरेका छन् । ुयो हाम्रा लागि सुखद र आशा लाग्दो संकेत हो तर यति हुँदाहुँदै पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नुपर्ने आवश्यकता छ । यसकाप्रति नेपाली कांग्रेस आफ्नो प्रतिबद्धता दोहोर्याउँछु खड्काले पेश गरेको दस्तावजेमा छ ।
कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनहरूमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने प्रस्ताव महासमिति बैठकमा पेस गरेका छन् । मंगलबार पार्टीको महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गर्ने क्रममा थापाले सबै निर्वाचन क्षेत्रमा कांग्रेसको चुनाव चिह्न रुखवाला मतपत्र हुने सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।
महामन्त्री थापाद्वारा चुनावी गठबन्धन नगर्ने प्रस्ताव पेस
वर्तमान सत्तारुढ गठबन्धन संविधान रक्षाका लागि बाध्यात्मक अवस्थाको उपज भएको बताउँदै थापाले आगामी निर्वाचनमा भने कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता महासमिति बैठकले गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
गगन थापाको ४६ पृष्ठको सांगठनिक प्रतिवेदन [पूर्णपाठ]
‘कांग्रेस यस महासमिति बैठकबाट पार्टीका तमाम सदस्य, सुभेच्छुक तथा आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्दछ कि हामी अब भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्नेछौं,’ उनले भने, ‘हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं ।’
त्यसका लागि कांग्रेसको संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनतामा कांग्रेसप्रति विश्वास जगाउनुपर्ने थापाको भनाइ छ । ुहाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै, आम जनताको विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रूपमा पुनर्स्थापति हुनेछौं,ु थापाले भने ।
नेपाली कांग्रेसको महासमिति बैठकमा चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भएको थियो ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीलाई पूर्ण रूपमा ‘मास बेस्ड’ डिजिटल पार्टी बनाउन महासमिति बैठकले निर्दिष्ट गर्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टीभित्र प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने र क्रियाशील सदस्यहरूले मतदान गरेर नेतृत्व चयन गर्ने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ ।
महासमिति बैठकमा प्रदीप पौडेलको २८ बुँदे थप संकल्प प्रस्ताव (पूर्णपाठसहित)
महासमिति बैठकलेलिनुपर्ने थप संकल्प नामक प्रदीप पौडेलको प्रसतिवेदन
ललितपुरको गोदावरीमा सोमबारदेखि जारी महासमितिको बैठकमा नेता पौडेलले २८ बुँदे संकल्प प्रस्ताव पेश गरेका छन् । ८ पेजको सो संकल्प प्रस्तावलाई उनले महासमिति हलमा सबै सदस्यहरुमाझ वितरण गरेका छन् । पार्टीको सदस्यतादेखि अन्य सबै प्रक्रिया र विवरणलाई अनलाइनमार्फत गर्ने व्यवस्था गर्नुपर्ने र पारदर्शी बनाउनुपर्ने पौडेलको प्रस्ताव छ ।
त्यस्तै, पार्टीभित्र सबै तहको नेतृत्व चयनमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने, भ्रातृ संस्थामा मनोनयन गर्न नपाइने, भ्रष्टाचारमा सार्वजनिक दोषरोपण गरिएका प्रकरणहरुमा निष्पक्ष व्यक्तिहरूलाई सहभागी गराएर पार्टी आफैंले दबाबविहीन अनुसन्धान गर्ने व्यवस्था गर्न संकल्प गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
त्यस्तै, पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यले एक महिनाभित्र आफ्नो सम्पत्ति र त्यसको श्रोतको स्वघोषणा गर्ने, छ महिनाभित्र देश विकासको पाँच, दस र पन्ध्र वर्षे भिजन पेपर तयार गर्नुपर्ने, भ्रष्टाचार, यौनजन्य हिंसा, सामाजिक विभेदलगायत फौजदारी मुद्दामा आरोपित या छानबिनमा भएको सदस्य पार्टीबाट स्वतः निलम्बित हुने व्यवस्था गर्ने, वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्म भएका वा कुनै पनि लाभको पदमा रहेका सदस्यको सार्वजनिक लेखा परीक्षण अनिवाय गर्न, समयमै महाधिवेशन गर्न, जनताले मतदान गर्ने कुनै पनि निर्वाचनमा अन्य कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्न संकल्प गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
उनले पार्टीका मुख्य पदमा सदस्यबाटै चुनिने गरी विधान परिवर्तन गर्न र पार्टीलाई पूर्ण रूपमा आमनागरिकमा आधारित मास बेस्ड पार्टीकारुपमा विकास गर्न समेत संकल्प गर्न प्रस्ताव गरेका छन् ।
बैठकमा पार्टीका उपसभापति पूणर्बहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तावका रूपमा पेस गरेका दस्तावेजहरूमाथि आजदेखि छलफल हुँदैछ । चार वटा हलमा प्रदेशगत रूपमा समूह विभाजन गरी छलफलको प्रबन्ध गरिएको छ ।
आफ्ना सुझाव तथा धारणा राख्न एक सहभागीलाई पाँच मिनेटको समय दिइएको छ । सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोसी र सुदुरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरू, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल भइरहेको छ ।
के छ अर्थमन्त्रीको प्रतिवेदनमा ? [पूर्णपाठ]
महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति–प्रस्ताव
महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति–प्रस्ताव
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले देश र लोकतान्त्रिक शासन व्यवस्थामाथि सङ्कट आइपरेको बेलामा पार्टीले जिम्मेवार र बुद्धिमतापूर्ण भूमिका निर्वाह गर्दै र परिस्थितिलाई सम्हाल्दै आएको बताएका छन् ।
महासमितिको बैठकमा पेश गरेको ६५ पृष्ठ लामो नीति प्रस्तावमा भनिएको छ, ‘जब जब देशमा सङ्कट देखा पर्दछ, लोकतन्त्रमाथि आक्रमण हुन्छ, नागरिकको हक अधिकार खोस्ने दुस्साहस हुन्छ, त्यस परिस्थितिमा नेपाली काँग्रेस त्यस्तो राजनीतिक दल हो, जसले परिस्थितिलाई गम्भीरतापूर्वक लिएर अगाडि बढेको इतिहास छ । देशको सार्वभौमसत्ता, लोकतन्त्र तथा नागरिक हक अधिकारमाथि कुनै पनि शक्ति तथा निकायबाट हुने अतिक्रमण तथा हननका विरुद्ध नेपाली काँग्रेस आफ्नो स्थापना कालदेखि हालसम्म सतिसाल झैँ उभिएको छ ।’
महासमिति बैठकमा देउवाले के भने ? (पूर्णपाठ)
नेपाली कांग्रेसको महासमिति बैठक सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन्। उद्घाटनका क्रममा उनले संविधान संशोधनका लागि छलफलदेखि आगामी चुनावी गठबन्धनबारे पनि आफ्ना भनाई राखे।
यस्तो छ सम्बोधनको पूर्णपाठ
पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, महासमिति सदस्य र बैठकमा उपस्थित सबै साथीहरू, पत्रकार साथीहरू,
नेपालको इतिहासमा अविस्मरणीय दिनका रुपमा रहेको आज फागुन ७ गतेको अवसर पारेर नेपाली कांग्रेसले महासमिति बैठक शुभारम्भ गरी रहेको छ। म यस महासमिति बैठकमा सबै साथीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु।
देशमा लोकतन्त्र स्थापना र संरक्षणका लागि आफ्नो जीवन अर्पण गर्नु हुने सबै प्रातः स्मरणीय शहिदहरूमा श्रद्धाञ्जली व्यक्त गर्दछु। नेपाली कांग्रेसको स्थापना गर्ने, पार्टीलाई मार्ग निर्देश गर्ने, वैचारिक र संगठनात्मक रुपले सवल बनाउँदै कांग्रसकै नेतृत्वमा देशमा ठूला ठूला परिवर्तनको अभियानलाई सार्थक तुल्याउने आदरणीय नेता वी।पी। कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।
पार्टीमा निरन्तर रुपले क्रियाशिल रही लोकतन्त्र स्थापना, पुनस्र्थापना र रक्षाका लागि जेलनेल, निर्वासन, सर्वश्वहरण लगायत तमाम दुःख कष्ट व्यहोरेका र पार्टीलाई सुदृढ बनाउन दिनरात प्रयत्नशिल रहेका सबै नेता र साथीहरूको उच्च सम्मान गर्दै वहाँहरूको योगदान स्मरण गर्न चाहन्छु।
साथीहरू,
हामी पार्टीको १४ औं महाअधिवेशन पछिको पहिलो महासमिति बैठक प्रारभ्म गरी रहेका छौं। पार्टीको १४ औं महाधिवेशनमा समय अभावका कारण नीतिगत विषयमा दस्तावेज प्रस्तुत गरी छलफल गर्न पाइएन। पार्टीका नीतिगत विषयमा छलफल गर्ने उद्देश्यले महाधिवेशनको निर्णय अनुसार यो महासमिति बैठक बोलाइएको हो।
यो बैठकमा विभिन्न दस्तावेज प्रस्तुत हुनेछन्। सबै सहभागी साथीहरूले ती विषयहरूमा राम्ररी अध्ययन गरी आफ्ना विचार राख्नु हुनेछ। साथीहरूका विचार, सुझाव र धारणा समेत समेटेर नीतिगत दस्तावेजहरू परिमार्जन गरी पारित गरिने छन्।
साथीहरू,
नेपाली कांग्रेसले देशमा लोकतन्त्र स्थापना, पुनस्र्थापना र संरक्षणका लागि लामो संघर्ष गरेको इतिहास सबैमा विदितै छ। हाम्रो इतिहास लोकतन्त्रका लागि जनताको हक अधिकार र स्वतन्त्रताका लागि त्याग तपस्या र बलिदानका गाथाले भरिपूर्ण छ। मुलुकमा जहिले पनि संकट उत्पन्न भएका बेला नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा समाधान दिएको छ।
लोकतान्त्रिक मूल्य मान्यतासँग कहिल्यै पनि सम्झौता नगर्ने नेपाली कांग्रेसको दृढताका कारणले नै यो पार्टी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एक मात्र लोकतान्त्रिक पार्टीका रुपमा पहिचान बनाउन सफल भएको हो। लोकतान्त्रिक मूल्य मान्यता प्रतिको अविचलित निष्ठा, जनतासँगको निरन्तर एवं अटुट सम्बन्धका कारणले नै कांग्रेसले जन्मकालदेखि नै राष्ट्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै इतिहास निर्माण गरेको छ।
लोकतन्त्रको स्थापना, पुनस्र्थापनाका लागि भएका श्रृंखलाबद्ध क्रान्ति, संघर्ष आन्दोलनदेखि दश वर्षे सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने विषय होस् वा अन्तरिम संविधानदेखि वर्तमान संविधान निर्माण र संविधानको कार्यान्वयनको कार्यमा नेतृत्व प्रदान गरेका सबै काम नेपाली कांग्रेसको महत्वपूर्ण भूमिकाका उदाहरण हुन्।
नेपाली कांग्रेस आफ्नो इतिहासमा गर्व गर्दै वर्तमान र भविष्यमा समेत जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नेछ। नेपाली कांग्रेसका सैद्धान्तिक मान्यता, नीति कार्यक्रम र व्यवहार सबै लोकतान्त्रिक मान्यताबाट निर्देशित हुनेछन्।
साथीहरू,
नेपालको वर्तमान संविधान नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको हो। संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको छ। यो शासकीय स्वरुप नेपाली कांग्रेसको मान्यता अनुकुल छ। संविधानको रक्षा र सार्थक कार्यान्वयन आजका मुख्य एजेण्डा हुन्।
नेपाली कांग्रेस संविधानको सुरक्षा र कार्यान्वयनका पक्षमा दृढ छ र यो हाम्रो दायित्व पनि हो। यसै संविधानको उचित कार्यान्वयले देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि ल्याउन सकिन्छ भन्ने विषयमा हामी स्पष्ट छौं। संविधान गतिशिल दस्तावेज हो। संविधानको दीर्घ जीवनका लागि संविधान माथि जनताको स्वीकार्यता र स्वामित्व स्थापित गर्न आवश्यक हुन्छ। संविधान जनताको आशा, भारोषा र मर्यादा गर्ने विषय बन्नु पर्दछ।
संविधान जारी भएको आठ वर्ष भई सकेको छ। संविधान कार्यान्वयको मूल्याङ्कन गर्ने, कार्यान्वयनको क्रममा देखा परेका समस्या, जटिलता वा अस्पष्टता समेतको पहिचान गर्ने समय भएको छ। संविधानले व्यवस्था गरेको शासकीय स्वरुप र मूलभूत विषयमा प्रतिकूल प्रभाव नहुने गरी संविधानको संशोधन गर्न सकिने गरी अब छलफल प्रारम्भ गर्नु पर्दछ।
साथीहरू,
अहिले हामी गठबन्धनको अभ्यासमा छौं। अहिलेको गठबन्धन सरकार गठनका लागि मात्र बनेको होइन। केही समय पहिले प्रतिनिधि सभालाई असमयमा विघटन गर्ने, मुलुकमा राजनीतिक अस्थिरता ल्याउने, संविधानलाई जोखिममा पार्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने गतिविधि भए। संविधानको रक्षाका लागि नेपाली कांग्रेसकै पहल, प्रयत्न र अग्रसरतामा तत्कालनै गठबन्धन बनेको हो।
गत निर्वाचन पूर्वको गठबन्धन र वर्तमान सरकार त्यसैको निरन्तरता हो। आज पनि हामीले संविधानको रक्षालाई प्राथमिक एजेण्डाका रुपमा लिएका छौं। महासमितिमा प्रस्तुत हुने सबै दस्तावेजले यस विषयलाई उल्लेख गरेको छ।
हामीले संविधानमा मिश्रित निर्वाचन प्रणाली अपनाएका छौं। मिश्रित निर्वाचन प्रणालीका गुण दोष दुवै छन्। यो प्रणालीले देशको सबै जातजाती र समुदायको उचित प्रतिनिधित्वलाई प्रात्याभूति गरेको छ। यो सकारात्मक पक्ष हो। तर यो निर्वाचन प्रणालीमा कुनै एक मात्र पार्टीको स्पष्ट बहुमत आउने सम्भावना कम हुन्छ।
वर्तमान गठबन्धन हामी समेतको अग्रसरतामा संविधानको रक्षाको उद्देश्यले गठन भएको हुँदा यसको निरन्तरता हाम्रो राजनीतिक जिम्मेवारी पनि हुन गएको छ। आगामी दिनमा तीनै तहमा नेपाली कांग्रेसले बहुमत ल्याउन सक्ने गरी पार्टी संगठनलाई सुदृढ बनाउने काममा लागौं। यसका लागि म पार्टीका सबै साथीहरूलाई अुनशासित, एकतावद्ध र क्रियाशिल भई पार्टी संगठन सुदृढ गर्ने काममा लाग्न आव्हान गर्दछु।
भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीेले तत्कालीन परिस्थिति अनुसार गठबन्धनको औचित्य सान्दर्भिकता लगायतका विषयमा ठोस मूल्याङ्कन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्नेछ।
साथीहरू,
हाम्रो पार्टी देशको सबैभन्दा ठूलो पार्टी बनेको छ। देशका सबै गाउँवस्ती सबै वर्ग समुदायमा बलियो संगठन छ। गत निर्वाचनमा संघ, प्रदेश र स्थानीय तीनै तहमा सबैभन्दा बढी जननिर्वाचित प्रतिनिधि हाम्रा छन्। नेपाली कांग्रेस नेपाली जनताको सबै भन्दा बढी आशा, भरोषा र विश्वास गरेको पार्टी हो। जनताको यो विश्वासलाई खण्डीत हुन दिनु हुँदैन। नेपाली कांग्रेसका साथीहरूले उच्च मनोवल र आत्मविश्वासको साथ राष्ट्रसेवामा समर्पित हुनु पर्दछ।
हामीले शिर झुकाउनु पर्ने, मन सानो गर्नुपर्ने कुनै कारण छैन। नेपाली कांग्रेसको विधानमा समय सापेक्ष संशोधनको आवश्यकता छ। विधानले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रलाई बलियो बनाएको छ। पार्टीमा समानुपातिक प्रतिनिधित्व भएको छ। पार्टीलाई सांगठनिक रुपले थप सबल बनाउनका लागि विधानमा संशोधन बारे आवश्यक छलफल गर्न सकिन्छ।
साथीहरू,
विश्वभरी नै आर्थिक मन्दीको अवस्था छ। कोभिड १९ को महामारी, अन्तर्राष्ट्रिय स्तरमा केही मुलुक बिच युद्ध वा अशान्तिका कारण हाम्रो अर्थतन्त्रमा पनि प्रतिकूल प्रभाव परेको छ। तथापी आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको छ। आर्थिक प्रतिकूलताका कारण चाहे जस्तो काम गर्न सकिएको छैन। जनतामा केही निराशा देखिएको छ। हामी प्रतिकूल अवस्थालाई अनुकुलतामा बदल्न सक्छौं।
जनतामा नयाँ भरोषा र विश्वास जगाउन सकिन्छ। यसका सबै मिलेर काम गर्नु पर्दछ। जनताको निराशालाई देखाएर लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा हुने गतिविधि कांग्रेसलाई मान्य हुन सक्दैन। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्ने कुरामा हामी दृढ छौं। लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई सम्बोधन गरेर देशलाई विकासको बाटोमा लान सक्दछ। हामीले विधिको शासन र सुशासनमा विषेश जोड दिनु पर्दछ।
साथीहरू,
नेपाली कांग्रेसले सदैव सम्वाद, सहमति र सहकार्यको नीति अबलम्बन गरेको छ। देशमा विद्यमान राजनीतिक दलहरूमा प्रतिस्पर्धा हुनु स्वभाविक हो तर कतिपय हाम्रा साझा विषय छन्। देशको सर्वाभौमिकता, अखण्डता, लोकतन्त्र, विकास, परराष्ट्र नीति र शान्ति प्रकृयाका बाँकी काम संक्रमणकालीन न्याय जस्ता विषयमा हाम्रा समान धारणा हुनु पर्दछ। यस निम्ती सम्वाद, सहमति र सहकार्यको संस्कारलाई प्रोत्साहित गर्नु पर्दछ। पार्टी भित्र वा सबै पार्टी विचमा पनि निरन्तर सम्वाद र सहमतिको अभ्यास गर्नु पर्दछ।
महासमितिको यो बैठकलाई देश भित्र र विदेशमा रहेका सबै नेपालीले उत्सुकतापूर्वक हेरी रहेका छन्। अन्तर्राष्ट्रिय जगतको पनि चासोको विषय बनेको छ। संचार जगतले महासमितिलाई निकै महत्व दिएका छन्। महासमितिको यो बैठक नेपाली कांग्रेसलाई थप सवल सुदृढ र एकताबद्ध बनाएर लैजान सफल हुनेछ भन्ने मैले विश्वास लिएको छु।
धन्यवाद।
जय नेपाल
प्रतिक्रिया दिनुहोस्